दक्षिण एसियाकै बढी सरकार

chairman dahal elected as new pm by mobile pati काठमाडौं- दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ। सरकारको संख्या हेर्ने हो भनेचाहिँ कुनैले उछिन्न सक्दैन। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सबैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्।

औसतमा दसदेखि ११ वटा सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्।

कृष्णप्रसाद भट्टराईलाई छाडेर संसदीय व्यवस्था अँगालेयताको अवधिमा बुधबार निर्वाचित पुष्पकमल दाहाल २३ औं प्रधानमन्त्री हुन्।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषद्सम्मका सरकार गठन भए। यस क्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए।

नेपाल–२४

पाकिस्तान–१२

भारत–११

श्रीलंका–१०

बंगलादेश–६

पूर्वी युरोपमा कम्युनिस्ट शासन अन्त्यसँगै नब्बेको दशक सुरुमा विश्वभर प्रजातान्त्रिक लहर चल्यो। नेपालसहित दक्षिण एसियाली देश पनि त्यसबाट अछूतो रहेनन्।

२०४६ सालको जनआन्दोलनले नेपालमा पञ्चायती व्यवस्था अन्त्यसँगै प्रजातन्त्र पुनरागमन भयो। त्यही समयको सेरोफेरोमा बंगलादेशले पनि सैनिक शासन अन्त्य गर्‍यो। पाकिस्तानमा तत्कालीन सैनिक शासन जनरल मोहम्मद जिया उर हकको विमान दुर्घटनामा मृत्युपछि प्रजातान्त्रिक चुनाव हुन थालिसकेको थियो।

भारत र श्रीलंकामा लामो समयदेखि आवधिक निर्वाचन हुँदै आएको थियो। त्यसयता नेपाल, बंगलादेश, भारतमा संसदीय व्यवस्था छ। श्रीलंकामा सन् १९७८ देखि सुरु भएको फ्रान्सेली मोडलका कार्यकारी राष्ट्रपति र संसद्बाट चुनिने प्रधानमन्त्रीबीच शक्ति बाँडफाँट छ।

युद्धले थिलथिलो भएको अफगानिस्तानमा तालिबान विद्रोहीलाई विदेशी सैनिकले धपाएपछि दुईपटक राष्ट्रपति निर्वाचन भए पनि साना देश भुटान र माल्दिभ्समा स्वतन्त्र निर्वाचनबाट सरकार गठन हुन लामो समय लाग्यो।

नेपालमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री रहे। जसमा गिरिजाप्रसाद कोइराला चार पटक सत्ताको नेतृत्व गरे भने देउवाले तीनपटक प्रधानमन्त्री बने। तर कुनै पनि नेताले पुरै अवधी शासन चलाएन्। सबैभन्दा लामो कार्यकाल दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसादले २९ महिना शासन गरे रह्यो।

अन्तरिम सरकारसहित कृष्णप्रसाद भट्टराई, चन्द, थापा र दाहाल दुई–दुईपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे।

यसै अवधिमा भारतमा ८ प्रधानमन्त्रीको नेतृत्वमा ११ वटा सरकार गठन भए। भारतमा सन् १९८९ को निर्वाचनमा जनता दलका भिपी सिंह प्रधानमन्त्री निर्वाचित भएयता आठ व्यक्ति प्रधानमन्त्री बने। दुई वर्षअघि भाजपाले पूर्ण बहुमत प्राप्त गरेर नरेन्द्र मोदी सरकार नेतृत्वमा पुगे।

भारतमा सन् १९८९ देखि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको थिएन। त्यसबीच चन्द्र शेखर, पिभी नरसिंह राव, अटल बिहारी बाजपेयी, एचडी देवेगौडा, इन्दरकुमार गुजराल र मनमोहन सिंह प्रधानमन्त्री बने।

यस अवधिमा सबैभन्दा बढी मनमोहन सिंहले दुई कार्यकाल १० वर्ष ४ दिन सरकार चलाए भने सन् १९९६ मा लोकसभाको ठूलो दलको नाताले प्रधानमन्त्री बनेका बाजपेयीले संसद्मा बहुमत पुर्‍याउन नदिएपछि १६ दिनमै राजीनामा दिएका थिए। भारतीय लोकसभामा कुनै पनि दलले बहुमत नल्याए पनि तीन वटा सरकारले पूर्ण अवधि शासन गर्‍यो।

नेपालसँग प्रजातान्त्रिक शासन व्यवस्थामा रहेको बंगलादेशमा संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको समयमा स्वतन्त्र सरकार गठनबाहेक दुई महिला नेतृ शेख हसिना वाजेद र बेगम खालिदा जिया मात्रै शासनमा पुगेका छन्। सत्ता र प्रतिपक्षी दलको तिक्त सम्बन्ध रहेको बंगलादेशमा राजनीतिक तनाबका कारण चुनाव गराउन नसकेपछि सेनाको समर्थनमा स्वतन्त्र व्यक्तिको सरकारले करिब दुई वर्ष शासन चलाएको थियो।

बंगलादेशमा कामचलाउ सरकार नेतृत्व न्यायाधीशले गर्दै आएकामा केही वर्षअघि शेख हसिना सरकारले यो व्यवस्था हटाएको छ। अहिले जुन पार्टीले निर्वाचन घोषणा गर्छ, उसैले काम चलाउँछ।

पछिल्लो दुई कार्यकाल अवामी लिगको नेतृत्वमा सरकारको नेतृत्व गर्दै आए पनि बंगलादेश नेसनलिस्ट पार्टी र लिगले आलोपालो गरी पूर्ण अवधि सरकार चलाउँदै आएका छन्।

सैनिक कु, अदालत र राष्ट्रपतिको हस्तक्षेपका कारण पाकिस्तानमा पटकपटक सरकार परिवर्तन अस्थिरताको कारक बन्ने गरेको छ।

जनरल जिया उर हकको विमान दुर्घटनामा मृत्यु भएपछि ११ वर्ष सैनिक शासनको अन्त्यपछि पाकिस्तानमा सन् १९८८ मा फेरि संसदीय व्यवस्था सुरु भए पनि विभिन्न क्षेत्रको हस्तक्षेपका कारण अधिकांश सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेको देखिँदैन। करिब तीन दशकको अवधिमा पाकिस्तानमा बेनजिर भुट्टो दुईपटक प्रधानमन्त्री भइन् भने हालका प्रधानमन्त्री नवाज सरिफ चारपटक प्रधानमन्त्री बने। कामचलाउ सरकार बाहेक यस अवधिमा ११ वटा सरकार गठन भएका छन्।

भुट्टो र शरिफबाहेक जफरुल्लाह खान जलामी, चौधरी सुजात हुसैन, सैकात अजिल, युसुफ राजा गिलानी र राजा परभेज अफरस प्रधानमन्त्री बने। अहिले फेरि नवाज सरिफ प्रधानमन्त्री बनेका छन्।

त्यसबीच पाकिस्तानी सेनाका प्रमुख परबेज मुसर्रफले सैनिक विद्रोह गरेर शासन गरे। मुसर्रफले तीन वर्ष सैनिक शासन चलाए भने दुई पटक निर्वाचित सैनिक शासकका रुपमा काम गरे। तर सन् २००७ मा भएको संसदीय निर्वाचनमा इस्लामिक लडाकुहरुले हत्या गरेका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको दल पाकिस्तान पिपुल्स पार्टीले बहुमत ल्यायो। अफिस अली जर्दारीले कार्यकारी राष्ट्रपतिका रुपमा काम गरे। उनको कार्यकालमा दुई प्रधानमन्त्री नियुक्त भएका थिए।

कार्यकारी राष्ट्रपति भएको श्रीलंकामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्रीलाई संसद्ले अनुमोदन गर्ने व्यवस्था छ। सन् १९८९ यता श्रीलंकामा ५ जना राष्ट्रपति बने दसवटा सरकार निर्माण भयो। रणसिङ्गे प्रेमदासा, दिनगिरी बन्दा विजेतुङ्गा, चन्द्रिका कुमारातुङ्गा, महिन्दा राजापाक्षे राष्ट्रपति बने भने अहिले मैथरिपाला सिरिसेना राष्ट्रपति छन्। सिरिसेनाले संविधान परिवर्तन गरी राष्ट्रपतिमा भएको अधिकारी घटाएका छन्। लामो गृहयुद्धको सामना गरेको श्रीलंकामा दसवटा प्रधानमन्त्री बने जसमा हालका प्रधानमन्त्री रनिल बिक्रमासंघेले तेस्रो कार्यकाल हो भने रत्नसिरी बिक्रमानायके दुईपटक प्रधानमन्त्री बने। चन्द्रिका कुमारातुङ्गा, महिन्दा राजापाक्षे, सिरिमाओ बन्दरानाइने र डिएम जयारत्ने एक–एक पटक प्रधानमन्त्री बने।

दक्षिण एसियाको सरकार हेर्दा नेपालका सबैभन्दा अस्थिर सरकार देखिन्छ। नेपाल एक पूर्ण कार्यकाल काम गर्न सकेको देखिँदैन। पाकिस्तानमा राष्ट्रपतिका रुपमा आसिफ अली जर्दारीले पूरै कार्यकाल काम गरेका थिए भने नवाज सरिफको सरकारले सन् २०१३ देखि शासन गर्दै आएको छ।

नागरिकन्युज बाट

प्रतिक्रिया दिनुहोस्