दशैंको महत्व र दशैंको विधि: टीका, जमरा, पिङ र चङ्गा

काठमाडौं – यो मनमोहक मौमा बेग्लै रौनक छ त्यो माथि शरद ऋतु र हरियाली फुल फुलाउदो मौसम अनि मनमोहक वातावरण । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एकाकार गर्ने चाड । अर्थात्, त्यो चाड दशैं ।

कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । कोही पिङमा मच्चिइरहेका छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु घर,गाउँ फर्किएका छन् । घर,आँगन सफा बनाइएको छ । घरको भित्ता रंगाइएको छ । हरेकको भान्सामा थरिथरिका परिकार पाकिरहेका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैं आएको छ ।

असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रतसाथ मनाइन्छ, यो पर्व । घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती चण्डी पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।,यहि विषयमा अनलाईन खबरमा रहेको रिपोर्टलाई साभार गरिएको छ ।

दशैंको महत्व

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो-सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।

वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।
दशैंको विधि

नेपालीहरुको ठूलो चाड हो दशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।

दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।

दशैंको श्लोक

दशैंमा टीका लगाउँदा आशिर्वाद दिइन्छ, संस्कृतका ऋचा उच्चारण गर्दै । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।

श्लोक यस्तो छ,

आयूद्रोणसुते श्रीयम् दशरथे शत्रुक्षयम् राघवे
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानम् सूर्यसुते बलम् हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानम् विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे

यसको अर्थ हो, द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

दशैंको टीका

दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

दशैंको जमरा

दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ ।

अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

दशैंको पिङ

मान्यता के छ भने दशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ । यही मान्यतालाई शिरोधर गर्दै पिङ थाप्ने र त्यसमा मच्चिने गरिन्छ । यसले दशैंमा रमाउने बहाना दिएको छ । सबै भेला भएर पिङमा मच्चिँदा रमाइलो हुन्छ । सबै खुशी हुन्छन् ।

यो स्वास्थ्य विज्ञानसँग पनि जोडिएको छ । दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा सेवन गरिन्छ । एकसाथ बसेर खानेकुरा खाए पनि पचाउन गाह्रो हुन्छ । खानेकुरा पचेन भने त्यो बोसोमा रुपान्तरण हुन्छ । अनि, रोग लाग्छ ।

त्यसैले मीठो मसिनो खाएपछि पिङमा मच्चिनु पर्छ । यसले पेटको व्यायाम हुन्छ । खानेकुरा पचाउन सहयोग पुग्छ ।

दशैंको चङ्गा

दशैंमा चङ्गा उडाइन्छ । किनभने, यतिबेला आकास खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुटै आनन्द छ । धार्मिक कथनचाहिँ के छ भने खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकहाँ पुर्‍याउन चङ्गा उडाइन्छ ।

अहिले यो मनोरञ्जनको माध्यम बनेको छ । वर्षा ऋतुको समाप्तिसँगै आउने दशैंको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ । खुशी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्