असहाय कुकुरकी आमा ‘बीना’को कथा

काठमाडौँ —अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देखे । कुकुरको घाउबाट रगत बगिरहेको थियो । उक्त दृश्यले उनको ध्यान तान्यो । तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी बूढानीलकण्ठ नगरपालिका–६ स्थित विष्णुमति किनारमा रहेको ‘करुणा पशु स्याहार’ केन्द्रमा लगे । उपचारपछि अहिले कुकुरको घाउमा खाटो बसेको र हिँडडुल गर्न सक्ने भएको छ ।

केन्द्रमा रहेको अर्को कुकुरको ढाडमा पूरै पोलेको र टाउको खुइलिएको छ । बौद्ध क्षेत्रको मासुपसलतिर जाँदा कसैले रिसले तातोपानी खन्याएर यस्तो अवस्थामा पु¥याएको जस्तो देखिने उक्त कुकुरलाई उद्धार गरेर केन्द्रमा राखिएको छ । कतिपय कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपाङ्गता समेत भएका छन् । कुनैको हर चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपाङ्गदेखि हट्टाकट्टा गरी ७० कुकुर यहाँ छन् ।

Bina-panta-Dog-Mother
सडकबाट उद्धार गरेर काठमाडौँको बुढानीलकण्ठस्थित करुणा पशु स्याहार केन्द्रमा राखिएका घाइते र असक्त कुकुरहरुको स्याहारमा जुट्दै वीना पन्त ।

“यो पनि गाडीले ठक्कर दिएको, त्यो पनि गाडीले ठक्कर दिएको, कतिपयलाई क्यान्सर भएको छ, घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन्, सबैलाई ल्याएका छौँ, उपचारपछि धेरै निको पनि भएको छ”, वरिपरि झुम्मिएका र लुटपुटिँदै गरेका कुकुरलाई सुमसुम्याउँदै पन्तले आफ्नो अनुभव सुनाए ।

“आउ ए झुम्रु, मेरोे माया के छ नि”, आज बिहान आफ्नै छोराछोरीलाई झैं उनले बोलाउन नभ्याउँदै यत्रतत्र रहेका कुकुर घ्वाङ्घ्वाङ र घुङ्घुङ गर्दै आइपुगे । कति अगाडिका दुई खुट्टा उचालेर लहसिए, कतिले खानेकुरा मागे, केही कुकुरले कुइँकुई गर्दै आत्मियताको भाव झल्काए । खुट्टा घाइते भएका कुकुर पनि सकिनसकी लम्किन्थे र काखमा लुटपुटिन्थे ।

उनले आफ्नै घरमा पनि सडकबाट उठाएका तीन कुकुर राख्नुभएको छ । “पहिले कस्तो बिरामी थियो, अहिले ठिक भयो, मेरो घरपरिवारबाट पनि ठूलो सहयोग मिलेको छ र म यसरी छाडा कुकुर तथा सहयोगापेक्षी मान्छेको उद्धारमा खटिन भ्याएको छु”, पन्त भन्छिन् ।
उनी कुकुरको उद्धारमा नै दिनभर खछिन्छिन् । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरहरुमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुहरुको उद्धारमा लाग्नुहुने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्ने बित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पुर्याउँछन् ।

स्याहार केन्द्रमा विगतमा सबै काम समितिका सदस्यहरुले नै गरे पनि अहिले पैसा दिएर कुकुरको रेखदेखमा दुईका साथै एक सुपरिवेक्षक पनि राखिएको छ । उनीहरूको तलबभत्तामा समस्या हुँदा सञ्चालक समिति सदस्यहरु आफैँ पैसा उठाएर दिने गरेको उनी बताउँछिन् । यहाँ पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको छ । “त्यहाँका बासिन्दाई भनेर, सम्झाएर, खाना दिनोस् भनेर कुकुर छाड्ने गरेका छौँ, पन्त भन्नुहुन्छ, “कुकुर पनि आफ्नो रैथाने ठाउँमा पुग्दा रमाउँछ, खुशी हुन्छ, बलियो भएपछि कुदेर खान सक्छ नि”, यहाँ अहिले घाइते र अपाङ्ता भएका ७० कुकुर छन् ।

कुकुरलाई बन्ध्याकरण पछि सडकमा नआए उनीहरु जोखिममा पर्दैन् भन्ने लक्ष्य संस्थाको छ । दश वर्षमा काठमाडौँका सडकलाई छाडा चौपायरहित बनाउने लक्ष्य छ । अहिलेसम्म ३५० कुकुरलाई उद्धारपछि उपचार गरेर सडकमा छाडिएको र १२० कुकुरलाई बन्ध्याकरण गरिसकिएको छ ।

मेरा घरको कुकुरजस्तै सडकका पनि हुन्, मेरो छोराछोरी प्यारो, सडकका छोराछोरी प्यारो नहुने भन्ने त होइन नि । उहाँलाई आफूले पालेको एउटा कुकुर मरेपछि यस्तै महसुस भयो । पहिला क्याट नेपाल, एनिमल नेपाल, नेपाल एनिमल वेलफेयर सेन्टरलगायतसँग मिलेर उद्धार, उपचार बन्ध्याकरणका कार्यक्रममा सहभागी हुनुभएकामा पन्त अहिले आफैँले असहाय पशुको उद्धार गर्दै पालनपोषणमा खटिनुभएको छ ।

छाडा गाईको उद्धार र संरक्षण

सडकका गाईसमेत उठाएर यहाँ राखिएको छ । सडकबाट उठाएर १५० गाईको उद्धार गरिसकिएकामा यहाँ अहिले नौ गाई छ । डा उमेश मण्डलको भनाइ उद्धृत गर्दै पन्त भन्नुहुन्छ, “गाईचाहिँ बिरामी भएपछि बचाउनै सकिँदैन, पहिले नै फलाम, काँटी र प्लाष्टिक खाइसकेकाले बचाउनै समस्या हुन्छ तर पनि सडकमा देखिएका गाई उद्धार गरेर ल्याइन्छ । ”

असहाय पशुको संरक्षणका लागि डा गोविन्द टण्डनले २७ वर्षअघि पशुपक्षीप्रति निर्दयीता रोकावट समाज नेपाल स्थापना गर्नुभएको थियो । यसले केही काम गर्दै आए पनि खासै प्रभावकारी भएको थिएन । अर्को ‘करुणा पशु स्याहार केन्द्र’ अहिले सक्रिय हुँदै आएको छ । त्यही संस्थाका ११ सदस्यमध्ये एक छिन् पन्त ।

उहाँका अनुसार पृथ्वीमा सबै प्राणीले बाँच्न पाउने अधिकार छ । सबैले सबैलाई प्रेम गरौँ मानवलाई पनि माया गर्नुपर्छ र असहाय पशुलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उक्त संस्थाको उद्देश्य हो ।

पन्त सडकमा बेवारिसे मनोरोगी र असक्तको उद्धारमा पनि उत्तिकै खटिन्छिन् । मानव सेवा आश्रम, प्रहरी र स्थानीय तहका हरेक अभियानमा उनी सक्रिय छिन् । “जो परिचयविहीन मावन उद्धार पनि गर्छौँ, पशुसरहकै अवस्थाका मानव पनि उस्तै लाग्छ, आवाजविहीन मानिस र पशु उस्तै अवस्थामा भेटिन्छन्, त्यसैले आफ्नो यो अभियानसँगै मानव सेवा आश्रमका अभियानमा पनि पुग्नु छ ।” पन्त भन्छन् ।

अहिलेसम्म सरकार तथा स्थानीय तहबाट भरपर्दो सहयोग नपाएको गुनासो गर्दै उनी उनीहरु मरे व्यवस्थापन गर्ने ठाउँ मात्रै उपलब्ध गराइए पनि ठूलो सहयोग पुग्ने बताउनुहुन्छ । यहाँको स्याहार केन्द्र सञ्चालनका लागि कसैले पराल, कसैले चामल कसैले मकै ल्याइदिन्छन् ।

“संस्थाका अध्यक्ष विकेश श्रेष्ठसहितसबैको सामूहिक प्रयास हो, यो मेरो एक्लैको होइन”, पन्त बताँछिन्, “ अब जग्गावालाले यो ठाउँ छाड्न भनेकाले स्थानीय तहले जग्गा उपलब्ध गराइदिए त ठिकै भो नत्र भने कहाँ लगेर राख्ने चिन्ता बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्