गजल साँझ: परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश

“मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।”

साँझ ढल्किँदै गर्दा भक्तपुरका युवा गजलकार विकास प्रहरको ‘पाँचौँ एकल गजल साँझ–२०७५’ मा उनले गजलका शेर वाचन गरिरहँदा सहभागीहरू मन्त्रमुग्ध भएका थिए । गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटले रात छिप्पिँदै जाँदा प्रहरका गजलले सहभागीलाई नतमस्तक बनाएको थियो ।

त्रिपुरा न्यूज साप्ताहिकद्वारा सोमबार आयोजित युवा गजलकार प्रहरको सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक लगजलमा सहभागीहरू मन्त्रमुग्द भएका थिए ।

“मेरै छेऊ बसिँदिदा, मुटु पनि टाल्न सक्छु,
निरङ्कुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु”

प्रहरका एकदर्जन सङ्गीतबद्ध गजल गायक राज सागरले सुमधुर स्वरमा गाएर साङ्गीतिक माहोललाई अझै तताएका थिए । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेकामा प्रहरको कार्यक्रममा भने भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेका स्रष्टा एवं गजल पारखीको सहभागिता थियो ।

नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।

“उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।”

राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो–

“ परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।”

अर्का युवा गजल गायक राज सागरले सात गजल गाएर त्यस माहोललाई अझै रौनक बनाएका थिए । गायक सागरलाई गायनमार्फत गायिका अञ्जु श्रेष्ठले साथ दिनुभएको थियो । सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ श्रव्यदृश्यसमेत सार्वजनिक गरिएको थियो ।

गजल मञ्चका अध्यक्ष बलराम दाहालले नेपालमा गजल गायन र वाचनको विकास अझै हुन नसकेको अवस्थामा यस्तो कार्यक्रमले गजलमा लाग्नेलाई प्रेरणा मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्