ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

काठमाडौँ – पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ । सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे छ । धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको छ । 

फिदिम नगरपालिका–४ तथा हिलिहाङ गाउँपालिका–७ तीनभङ्गालेका नौ परिवारले व्यावसायिक कालो ग्यामेरा उखुको खेती गर्दै आएका छन् । यहाँ यस वर्षबाट करीब ६० क्विन्टल सक्खर उत्पादन गर्न लागिएको छ । माग अत्यधिक रहेका कारण वर्षेनी उत्पादन वृद्धि गर्दै लगिएको अगुवा कृषक मदनकुमार पोखरेलको भनाइ छ । कालो ग्यामेरा उखु व्यावसायिक रूपमा सक्खर उत्पादनका लागि खेती भएको जिल्लामै यो पहिलो घटना हो । यहाँ अन्य प्रजातिका उखुबाट सक्खर बनाइए पनि कालो ग्यामेरा उखु खान र खुँदो बनाउन मात्रै पर्याप्त हुने गरेको थियो ।
अगुवा कृषक पोखरेलले दुई वर्षअघिबाट यहाँ कालो ग्यामेरा उखु खेतीलाई व्यावसायिक बनाउनुभएको थियो । परम्परागतरूपमा सीमित क्षेत्रमा खेती गर्दै आउनुभएका अन्य स्थानीयवासीले समेत उहाँकै सिको गर्दै व्यावसायिकरूपमा सक्खर उत्पादन गर्न थाल्नुभएको छ । हेवाखोलाको किनारामा पर्ने यो क्षेत्रमा निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनाका कारण धानखेतीका लागि सिँचाइको प्रबन्ध गर्न समस्या भएपछि कृषक वैकल्पिक खेतीको खोजीमा थिए । पोखरेलले अगुवाइ गरी उखु पेल्ने आधुनिक मेसिन भित्र्याएपछि आफूहरुले समेत उखुखेतीलाई व्यावसायिक बनाएको कृषक रामप्रसाद थापाको भनाइ छ । 

पोखरेलले १० वर्षका लागि वार्षिक रु ५५ हजार तिर्ने सर्तमा ३० रोपनी जमीन भाडामा लिएर खेती थाल्नुभएको हो । यहाँ यस वर्ष रु १५ लाखको सक्खर उत्पादन हुने पोखरेलको अनुमान छ । पोखरेलले व्यावसायिक सक्खर उत्पादनका लागि मेसिन, औजार, भाँडाकुँडा, गोठ निर्माणलगायतमा रु पाँच लाख लगानी गर्नुभएको छ भने खेती गर्न वर्षेनी रु तीन लाख खर्च हुन्छ । “पहिलो वर्ष नै रु चार लाख २५ हजारको सक्खर बेचँे र उत्पादन बढाउनतिर लागेँ”, पोखरलले भन्नुभयो, “यसपालि १५० किलो सक्खर बेचिसकेँ, ३५ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरेको छु ।”
सक्खरलाई बजारको चिन्ता छैन । गत वर्ष प्रतिकिलो रु ५०० मा बिक्री गर्नुभएका पोखरेलले उत्पादन बढेको भन्दै यस वर्ष प्रतिकिलो रु ४०० मा सक्खर बिक्री गरिरहनुभएको छ । एक मुरी धान फल्ने खेतमा एक क्विन्टलभन्दा बढी सक्खर उत्पादन हुने हुँदा कृषक उत्साहित छन् । उखुको पात पोषिलो घाँस हुने भएकाले पशुपालनसमेत फस्टाउने कृषक दुर्गादेवी थापाको भनाइ छ । पोखरेलसँग काठमाण्डौँ बस्ने सुरेन्द्र सापकोटाले एक क्विन्टल सक्खर माग गर्नुभएको छ । झापाको सुरुङ्गाबाट तीन क्विन्टलको माग आएको भन्दै पोखरेल खेताला लगाएर सक्खर पकाउनमा व्यस्त हुनुहुन्छ । यहाँ आयोजना हुने धार्मिक अनुष्ठानमा १० किलोसम्म सक्खरको माग हुने गरेको उहाँको भनाइ छ ।

उखु क्रमशः फैलिने भएकाले उत्पादन बढ्दै जाने कृषकको अनुमान छ । उखुमा मलसमेत प्रयोग गर्नुपर्दैन । स्थानीय कृषकका अनुसार मल प्रयोग गरे उखु हौसिएर बढ्छ, लड्छ र गुलियो हुँदैन । यहाँका नौ परिवारमध्ये पोखरेलले सबैभन्दा बढी सक्खर उत्पादन गर्दै आउनुभएको छ । कृषक आ–आफूले उखु पेल्ने, बेच्ने गर्दछन् । सक्खरले भाउ नपाउने कुनै समस्या छैन । सक्खर जति पुरानो भयो त्यति राम्रो हुन्छ भन्ने परम्परागत मान्यता छ । उखुखेतीका लागि वर्षमा दुई पटक सिँचाइ गरे पुग्ने स्थानीयवासीको भनाइ छ ।
अगुवा कृषक पोखरेल परिवारका तीन जनाले पूरै खेती धान्दै आउनुभएको छ । उखु पेल्ने, खुँदो पकाउने कार्यमा खेताला लगाउने गरिन्छ । “यो उखु मासिएला भन्ने समस्या छैन । समस्या आए नयाँ खाल्डा खनेर रोपे पुगिहाल्छ”, उखुको दीर्घकालीन खेतीबारे पोखरेलले भन्नुभयो, “खरानी, कोइला लगाए रोगसमेत नलाग्ने रहेछ ।” कृषकहरु जनप्रतिनिधि तथा सरकारी निकायले आफ्नो पौरख हेरिदिउन् भन्ने अपेक्षामा छन् । “हामीले गरेको काम हेरिदिनुस् भनेर अनुरोध गरे पनि जनप्रतिनिधिले पूरै बेवास्ता गर्नुहुन्छ”, धार्मिक क्षेत्रका अगुवासमेत रहनुभएका पोखरेलले भन्नुभयो, “कृषकमा भएको उत्साहमा सरकारले जोडबल पु¥याइदेओस् ।”

प्रतिक्रिया दिनुहोस्