प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग !

काठमाडौँ — एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ ।

यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिक मञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनले त्यसलाई लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहनाः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहना भएको बताएकी छन् । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप ऊर्जा दिने छ ।Bidhya-Debi-Bhandari

जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताएकी छन् । प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेकी छन् ।

उनले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताए ।

विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्