सरकारको घोषणाः विप्लव समूहमाथि प्रतिबन्ध लगाउने !

काठमाडौं — मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनिदै आएको नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने बताएको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

श्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको खबर छ । श्रोतका अनुसार हिजो संसदमा गृहमन्त्रीले जे बोल्नु भएको थियो, त्यही विषयलाई प्रस्ताव लैजानु भएको थियो । त्यसअनुसार नै निर्णय भएको बताईएको हो ।

वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे छलफल भएको बताइएको छ ।

एक पार्टी दुई अध्यक्ष अभिब्यक्ति फरक

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो मात्रै एक सार्वजनिक कार्यक्रममा विप्लवलाई वार्तामा आउनका लागि आग्रह गरेका थिए । तर, आज भने प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा अपारधिक गतिविधि र पैसा असुल्ने बम पड्काउने भन्दै विप्लव समुहलाई वार्ता होईन कानुन् अनुसार कारबाही गर्ने बताएका छन् ।

‘प्रचण्ड’ले आफुले २५ बर्ष अगाडि गरेको जनयुद्धको नक्कल विप्लवले गर्न खोजेको बताएका छन् ।

प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् ।

उनले आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको भनाई छ । प्रचण्डले विव्लवलाई राम्रोसँग चिनेको बताए ।

आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुने उनको तर्क छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको बताएका छन् । उनले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको मंगलवारको भेटघाटमा प्रधानमन्त्री ओलीले भने, के का लागि वार्ता गर्ने ? उनीहरुको क्रियाकलाप के राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के–को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।

कम्यूनिष्टका नाममा एउटा गिरोहले घिनलाग्दो काम गरिरहेको समेत प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मशील हुन,सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्यूनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्