विप्लवको विज्ञप्ति : जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं !

काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउन पाउनु नैसर्गिक अधिकार भएको बताएको छ ।

सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म भएको संज्ञा दिदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने विज्ञप्ती जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको जिकिर गरेको हो । विप्लव समूहले राष्ट्र र जनताका भविष्यका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको हो ।

सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समुहले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा पनि दिएका छन् । विप्लवले सरकारको कदमलाई हास्यास्पद भन्दै एकरति पनि नझुक्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।

‘हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’ चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं ।

हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’ विज्ञप्तिमा केपी ओली, प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्