प्रधानमन्त्रीको प्रश्न: बम पड्काउन पाइँदैन भन्दा किन रुवाबासी ?

‘विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गरिन्छ’

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले यस्तो संस्थालाई चिन्दैन । प्रधानमन्त्रीले ओलीले विप्लव समुहका बारेमा धारणा राख्दा नेताहरुलाई सचेत हुन आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जानकारी दिएका छन् ।

धानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गर्ने उनले बताए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमंत्री ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको बताउँदै उनले पार्टी एकताका विषयमा प्राय सवै विषयमा टुंगो लागि सकेको पनि दावी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्