गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मी — गुल्मीमा विहिबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको हो ।

उपचारको लागि पाल्पा लैजाने क्रममा थप एक घाइते पनि मृत्यु भएको हो । गुल्मीको दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ । भने जिपमा १० जना सवार रहेका थिए ।

पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । त्यसअघि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । शर्मा नेपाली कांग्रेसका पूर्वसांसदसमेत हुन् ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

यस्तै मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्