सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने तालिबान विद्रोहीको घोषणा

काबुल – लामो समयदेखि अफगानिस्तानमा ङ्घर्षरत तालिबान विद्रोही समूहले सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने घोषणा गरेको छ ।

तालिबान विद्रोही समूह र संयुक्तराज्य अमेरिकाबीच वार्ता प्रक्रियामा रहेपनि शुक्रबार भने तालिवान समुहले सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने घोषणा गरेको हो ।

तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा भनिएको छ ।

तालिवानले दिनहुँजसो अफगान सुरक्षाफौज र अफगानिस्तानमा तैनाथ नेटो फौजमाथि आक्रमण गरिरहेका छन् । शुक्रबारको घोषणामा तालिबानले आफ्ना लडाकूहरुलाई पूर्ण इमान्दारी र तालिवान कमान्ड संरचना बमोजिम आक्रामक कारबाही अघि बढाउन निर्देशन दिइएको छ । घोषणामा नागरिक हताहत रोक्न भरमग्दुर प्रयास गर्न लडाकूहरुलाई निर्देश दिइएको छ ।

अमेरिकी अफगान शान्तिदूत जाल्मे खलिलजादले तालिबानसँग युद्धविराम गर्न र काबुल सरकारसँग वार्ताका लागि आग्रह गरिरहेका छन्, तर विद्रोहीहरुले यी दुबै प्रस्ताव अस्वीकार गरेका छन् ।

तालिवानले अफगान सरकारसँग वार्ता नगर्ने बताउँदै आएको छ । कतारमा वार्ताका लागि आउने अफगान टोलीलाई तालिबानले सरकारी प्रतिनिधि नभई सर्वसाधारण अफगान नागरिक ठान्ने गरेको छ ।

तालिवानी आक्रमणबाट सुरक्षाकर्मी, लडाकू र सर्वसाधारणको मृत्यु हुनेक्रम घट्नुको साटो पछिल्ला वर्षहरुमा अझ बढेको छ ।

विभिन्न अध्ययनले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा तालिबान समूहले कब्जा गरेको देखाएका छन् । अफगानिस्तानमा अमेरिकी अतिक्रमणका विरुद्ध विगत १७ वर्षदेखि तालिबान र इस्लामिक स्टेट्स समूहले सशस्त्र सङ्घर्ष गरिरहेको छ ।एपी

प्रतिक्रिया दिनुहोस्