विप्लवको बन्दः काठमाडौँमा न्यून, राजमार्ग सुनसान !

काठमाडौं — नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा न्यून छ तर, विभिन्न जिल्लाको जनजीवन भने प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु चलिरहेका छन् । धेरै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।राजधानीका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई व्यापक रुपमा परिचालन गरिएको छ ।

विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवनमा त्रास भएको छ ।

काभ्रेको पनौती—७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

प्रहरीका अनुसार पृथ्वी राजमार्गमा बन्दको प्रभाव धेरै छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेको छ ।

दोलखाको चरिकोटमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु समस्यामा परेका छन् । यता, प्रदेश ५ मा बन्दको असरले जनजिवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्