पत्रकार पक्राउको विरोधमा देशभरका पत्रकारको धर्ना

काठमाडौं — पत्रकारहरुले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् ।

पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।

ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग सीईबीले पक्राउ गरेको बताइएको छ ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्