श्रीलंकामा राष्ट्रिय शोक, मृतकको संख्या ३१० पुग्यो

काठमाडौं —गत आइतबार श्रीलंकामा चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको बीबीसीले उल्लेख गरेको छ ।

गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् ।

कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको बताइएको छ ।

यसअघि प्रहरीका अनुसार एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्कृय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि शहरका बिभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्