दरबार हत्याकाण्ड: नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना !

काठमाडौं — विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो। विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाईन्छ । बीबीसी नेपाली लेख्छ प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ।

जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घटनाहरू भएका छन्।

सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सिध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला हत्याकाण्ड भएका छन्।

विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो।
कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्।

यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घटना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन्।

यही प्रसङ्गमा विष्णु पोखरेलले आधुनिक नेपालका केही महत्त्वपूर्ण घटनाको सारसङ्क्षेप यहाँ प्रस्तुत गरेका छन्।

साठी र बयसट्ठी साल पर्व
नेपाल एकीकरणको अभियान थालेका राजा पृथ्वीनारायण शाहको मृत्यु भएको केही वर्षपछिदेखि नै दरबारभित्र षड्यन्त्र बढेको र भाइभारदारबीच सत्तामा प्रभुत्व जमाउने होडबाजी चलेको थियो।

त्यसको मुख्य कारणमध्ये एक पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहलाई उनका पिता प्रतापसिंह शाहको मृत्युपछि अढाई वर्षको उमेरमै राजा बनाइनु भएको इतिहासकारहरूको मत छ।

अढाई वर्षको उमेरमै राजा बनाइएका तिनै रणबहादुर शाहसहित विभिन्न व्यक्तिको हत्या भएको विसं १८६० ताकाका घटनाले नेपालको इतिहासलाई अर्कै बाटोमा डोर्‍याएको मानिन्छ।

विक्षिप्त र सन्की राजा मानिएका रणबहादुर शाहको शासनकालमा दरबारभित्र तीन खालका शक्तिकेन्द्र रहेका र तिनले समानान्तर तीनवटा सत्ता चलाएको इतिहासकारहरूले लेखेका छन्।

तत्कालीन परम्पराविपरीत एक विधवा ब्राह्मणकन्यासँग विवाह गरेका रणबहादुर शाहले आफू जीवितै हुँदा तिनै ब्राह्मणबाट जन्मिएका गिर्वाणयुद्धलाई डेढ वर्षको उमेरमै सिंहासनमा राखेर आफू सन्न्यासी बनेर काशी गएका थिए।

त्यस बेला दरबारमा दामोदर पाँडेसहित पाँडेहरूको प्रभाव थियो भने रणबहादुर शाहसँगै भीमसेन थापा बनारस गएका थिए। पछि रणबहादुर शाह नेपाल फर्किएर आफ्नै छोराबाट मुख्तियारी लेखाई शासनसत्तामा फर्किए।

छोराबाट मुख्तियारी अर्थात् राजप्रतिनिधिको उपाधि लिनुपूर्व नै भीमसेन थापालगायतको सल्लाहमा त्यस बेलाका मूलकाजी दामोदर पाँडेसहित कैयौँलाई चरम यातना दिएर रणबहादुर शाहकै आदेशमा मारिएको इतिहासकारहरूले वर्णन गरेका छन्।

शासनसत्ता छाडेर गएका रणबहादुर शाह काठमाण्डू फर्कँदै गरेको थाहा पाई रोक्ने उद्देश्यले थानकोट पुगेको दामोदर पाँडे नेतृत्वको फौजका धेरै मानिसहरूलाई सुरुमा कैद गरेर पछि चरम यातना दिई मारिएको थियो।

विसं १८६० सालमा भएको यो घटनालाई इतिहासकार बाबुराम आचार्यले साठी साल पर्व भनेका छन्।

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकाशन गर्ने जर्नल ‘कन्ट्रिब्युशन टु नेप्लिज स्टडिज्‌’ को सन् २००५ जुलाईमा प्रकाशित ३२(२) अङ्कमा गङ्गा कर्माचार्य (हाडा)ले दामोदर पाँडे र अरूलाई विसं १८६० फागुन २१ गते पक्राउ गरिएको लेखेकी छन्।

उनी लेख्छिन्, “…त्यसको २०/२५ दिनपछि भारदारहरूलाई काट्न सुरु गरियो। त्यसको पहिलो सिकार दामोदर पाँडे र उनका छोराहरू रणकेशर र राजकेशर भए। काजी भीम खवास, सरदार इन्द्रमान खत्री, द्वारे सपनसिं, सुवेदार शङ्खधर, मानधन जम्मा आठ जना उक्त घटनामा काटिए।”

बाबुराम आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्‌’ मा लेखेअनुसार १८६० सालमा सुरु भएको उक्त काटमारको सिलसिला लामै समय चलेको देखिन्छ। दरबारमा पाँडे खलकसहित अन्य भाइभारदारलाई पाखा लगाएर आफू शक्तिशाली बन्ने चाहनामा भीमसेन थापाले विभिन्न षड्यन्त्र गरेको आचार्यले लेखेका छन्।

त्यसै क्रममा रणबहादुर शाह निर्वासनमा रहँदा राज्यको ढुकुटीबाट १८ हजार रुपैयाँ हिनामिना गरिएको एउटा मुद्दा अघि सारेर विसं १८६२ चैत ३ गते काजी त्रिभुवन प्रधानलाई पहिले कैद गरी मृत्युदण्ड सुनाइयो।

तर उनलाई मार्न भनी लगिएकै स्थानमा उनले “यो मामलामा अरू भाइभारदार पनि सामेल भएकाले सबैलाई बोलाई छिनोफानो होस्” भन्ने खालको अर्जीपत्र दिएपछि कैद गरेर राखिएको आचार्यले लेखेका छन्।

यसलाई भीमसेन थापाले विशेष अवसरको रूपमा प्रयोग गरे। विसं १८६३ वैशाख १५ गते (कसैले १६ गते पनि लेखेका छन्) बेलुका काजी त्रिभुवन प्रधानकै घरमा कचहरी बोलाइयो।

त्यसमा चौतारिया शेरबहादुर शाही तथा काजी नरसिंह गुरुङ आदिलाई अनिवार्य उपस्थित गराउन भीमसेन थापाले आफ्नो मातहतका सेनालाई आदेश दिएका थिए।

शाही र अरू भारदार सहजै उक्त कचहरीमा उपस्थित भए। सबैको उपस्थितिमा कचहरी सुरु हुने बेला भीमसेन थापा भने बहाना गरेर बाहिरिएको आचार्यको पुस्तकमा उल्लेख छ।

उनी लेख्छन्, “जुन बेला स्वामी महाराज (रणबहादुर) को उपस्थितिमा कचहरी प्रारम्भ भइरहेको थियो, ठिक त्यसै समयमा काजी भीमसेन थापा ‘खाना खान जान्छु’ भनी सभास्थलबाट खुरुक्क बाहिरतिर निस्किएका थिए।”

भीमसेन थापाको अनुपस्थितिमा सुरु भएको कचहरीमा रणबहादुरले काजी त्रिभुवन प्रधानले १८ हजार रुपैयाँ राज्यकोषबाट झिकेर मासेकोमा चौतारिया शेरबहादुर शाहीलगायत त्यहाँ उपस्थित भारदारहरूको पनि संलग्नता रहेको आरोप लगाए।

उक्त आरोप आफूमाथि पनि लागेपछि रिसाएका शेरबहादुर शाहीले रणबहादुर शाहलाई आफ्नै तरबार निकालेर प्रहार गरेको इतिहासकारहरूले लेखेका छन्। त्यसपछि तत्कालै शेरबहादुर शाहीलाई पनि त्यही स्थानमा मारियो।

अन्य केही भारदार र शेरबहादुर शाहीका अङ्गरक्षक तथा नातेदारहरूको पनि हत्या भयो। त्यसको भोलिपल्ट अन्य भारदारको पनि कुनै पुर्पक्ष नगरी विभिन्न आरोप लगाएर हत्या भयो।

शेरबहादुर शाहीको सहयोगी ठानिएका र भीमसेन थापाले रणबहादुर शाहको हत्यामा संलग्न भनी आरोप लगाएका व्यक्तिका शाखासन्तान समाप्त हुनेगरी साना बालकहरूलाई समेत काटेर मारेको इतिहासकार आचार्यले लेखेका छन्।

उनका अनुसार हत्याको क्रम झन्डै दुई सातासम्म चल्यो। त्यसमा १६ महिलालाई सती पठाइएको र झन्डै ७७ पुरूषको हत्या भएको आचार्यले लेखेका छन्।

ती दुई हत्याकाण्डकै कारण नेपालमा राजसंस्थामाथि भारदार हावी भएको इतिहासकारहरूको विश्लेषण छ। ती हत्याकाण्डले शक्तिशाली बनेका भीमसेन थापाले राजाभन्दा बलियो बनेर झन्डै ३१ वर्ष नेपालको सत्ता सञ्चालन गरे।

ती हत्याकाण्ड र भीमसेन थापाको उदयको परिणाम के भयो भन्नेबारे आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्‌’ मा यसरी व्याख्या गरेका छन्-

“यसरी स्वामी महाराजको यस हत्याकाण्डबाट पुराना तात्कालिक भाइभारदारहरू प्राय: सबैको दमन भयो। मुख्तियार भीमसेन थापा तथा यिनले बनाएका आलाकाँचा भारदारहरू मात्रै सत्तामा हाबी रहे। न योग्यताको कदर भयो न अनुभवको नै।”

“भारदारका योगदानहरूको पनि कुनै पूछ भएन। यसको प्रतिफल पछि विसं १८७१ मा कम्पनी सरकारका अङ्ग्रेज पदाधिकारीहरूसँग नेपाल अधिराज्यको अनपेक्षित रूपमा युद्ध भयो र नेपाल अधिराज्य आफ्नो अङ्गभङ्ग गराउन विवश भयो।”

कोत पर्व
साठी र बयसट्ठी पर्वपछि नेपालको इतिहासमा घटेको अर्को ठूलो र चर्चित हत्याकाण्ड हो – कोत पर्व।

दामोदर पाँडेको हत्या र दरबारमा भीमसेन थापाको उदयसँगै थापा एवम् पाँडे खलकबीचको द्वन्द्वमा कहिले को शक्तिशाली कहिले को शक्तिशाली बन्ने गरेको इतिहासकारहरूले लेखेका छन्। त्यस क्रममा एकले अर्कोलाई सिध्याउने खेल चल्ने गर्थ्यो।

एकतीस वर्ष सत्तामा हालीमुहाली गरेका भीमसेन थापालाई एक राजकुमारलाई विष खुवाएर मारेको अभियोगमा फसाएपछि दरबारबाट तितरबितर भएको थापा खलक पछि फेरि दरबारकै आग्रहमा सत्ताको केन्द्रमा आइपुगेको इतिहासकारहरूले लेखेका छन्।

त्यस क्रममा माथवरसिंह थापा नेपालको प्रधानमन्त्री र प्रधानसेनापति बने। तर विसं १९०२ मा उनी आफ्नै भान्जा जङ्गबहादुर कुँवरबाट मारिए। त्यस बेला पनि दरबारमा राजा राजेन्द्रविक्रम र रानी राज्यलक्ष्मीको दोहोरो सत्ता चलिरहेको थियो।

तसर्थ माथवरसिंह थापाको हत्यापश्चात् रानी आफ्ना विश्वासपात्र गगनसिंह भण्डारीलाई प्रधानमन्त्री बनाउन चाहन्थिन्। तर राजाले भने भारतमा बसेका फत्यजङ्ग शाहलाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाए। रानीको आग्रहमा गगनसिंहलाई पनि मन्त्रिपरिषद्को सदस्य बनाइयो।

तर दरबारमा रानी र उनका विश्वासपात्र गगनसिंहबीच अवैध सम्बन्ध रहेको हल्ला चल्यो। त्यसैले गर्दा राजा राजेन्द्र र युवराज सुरेन्द्र पनि गगनसिंहको विरोधी बनेको इतिहासकारहरूले लेखेका छन्।

यस क्रममा जङ्गबहादुरले चलाखीपूर्वक लाल झा नामक व्यक्तिमार्फत् विसं १९०३ भदौमा गगनसिंहको हत्या गराए। त्यसबाट विचलित भएकी रानी राज्यलक्ष्मीले असोज २ गते गगनसिंहको हत्यारा पत्ता लगाउने नाममा सबैलाई कोतमा भेला हुन आदेश दिइन्।

आफैँले षड्यन्त्र गरेर गगनसिंहलाई मारेका जङ्गबहादुरले यो अवसरलाई आफ्नो स्वार्थानुकूल प्रयोग गरेको इतिहासकारहरूले लेखेका छन्। बाबुराम आचार्यका अनुसार जङ्गबहादुरले उक्त अवसरलाई आफू शक्तिशाली बन्न झन्डै पाँच सयजति सैनिक र आफ्ना भाइहरूलाई खटाएर कोत प्रवेश गरेका थिए।

त्यहाँ छलफल र भनाभनको क्रममा सुरुमा अभिमानसिंह बस्नेत मारिएका र त्यसपछि अन्य भारदारसहित प्रधानमन्त्री फत्यजङ्ग शाहको पनि हत्या भएको थियो। आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्‌’ मा कोत पर्वमा मारिनेहरू २९ भाइभारदारको सूची राखेका छन्। तर उक्त घटनामा त्यसभन्दा धेरै मानिसहरू मारिएको अरू इतिहासकारको मत छ।

कोत पर्वबाट शक्तिशाली बनेका जङ्गबहादुरले त्यसपछि राज्यलक्ष्मीले उनलाई मार्न गरेको षड्यन्त्र पहिलै थाहा पाउँछन्। आफूलाई मार्न भण्डारखालमा बोलाइएको थाहा पाएर ठूलो सैन्य बलसहित त्यहाँ पुगेका जङ्गबहादुर कुँवर रानी राज्यलक्ष्मी पक्षका सबैजसो भारदारलाई मारेर थप शक्तिशाली बन्न पुग्छन्। त्यस हत्याकाण्डलाई भण्डारखाल पर्वका रूपमा चिनिन्छ।

जङ्बहादुरका छोरा पद्मजङ्ग राणाको पुस्तक ‘लाइफ अफ महाराज सर जङ्गबहादुर राणा अफ नेपाल’ मा कोतपर्वमा मारकाट चल्दै गर्दा नै राज्यलक्ष्मीले जङ्गबहादुरलाई प्रधानमन्त्री र प्रधानसेनापतिको सर्वोच्च पद प्रदान गरेको उल्लेख छ।

तर भण्डारखाल पर्वपछि जङ्गबहादुरले नै राज्यलक्ष्मीलाई सत्ताच्युत गराए अनि राजा राजेन्द्रविक्रमबाट सत्ता आफ्नो हातमा लिनेगरी अधिकारपत्र लेखाएर लिए। नेपालको इतिहासमा कोत पर्वकै कारण एक सय वर्षभन्दा लामो जहानियाँ राणा शासनको थालनी भएको मानिन्छ।

आचार्य लेख्छन्, “… जङ्गबहादुर कुँवर तथा यिनका भाइहरू नै नेपाल अधिराज्यको हर्ताकर्ता भइसकेका थिए। नेपाल तथा नेपाली नागरिकहरूको भाग्यविधाता पनि अब यिनीहरू नै बन्न आइपुगेका थिए। नेपाल अधिराज्यमा राणाशाही शासनरूपी भव्य महलको जग यस दुर्दान्त हत्याकाण्डपछि नै कायम हुन आएको हो।”

बयालीस साल पर्व
इतिहासकारहरूका अनुसार पृथ्वीनारायण शाहको मृत्युको केही वर्षपछिदेखि नै नेपालको दरबारभित्र सत्ताप्राप्तिका लागि बढ्न थालेको रक्तपातको क्रम पछिसम्म रोकिएन। एउटा ठूलो रक्तपात गरेर राजाको अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरका उत्तराधिकारीहरूले पनि त्यस्तै रक्तपातपूर्ण बाटो रोजे।

नेपालमा राणा शासन सुरु भएपछिको त्यस्तै घटना हो बयालीस साल पर्व भनेर चिनिने विसं १९४२ को हत्याकाण्ड।

यो हत्याकाण्ड पहिलेका हत्याकाण्डभन्दा केही पृथक् थियो। किनकि पहिलेजस्तो दुई फरक वंशका भारदारको झगडाभन्दा पनि यसमा राणाहरूकै दुई खलक संलग्न थिए। जङ्गबहादुरले आफूपछि भाइहरूमा उत्तराधिकार जाने निर्णय गरेका थिए।

तदनुरूप जङ्गबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दीपसिंह प्रधानमन्त्री बनेका थिए। त्यसै बेला विसं १९३८ सालमा एउटा घटना भयो। त्यसलाई अठतीस साल पर्व पनि भनिन्छ। त्यस बेला युवराज त्रैलोक्यका भाइ नरेन्द्रविक्रम शाहद्वारा राणा प्रधानमन्त्रीलाई मारेर राजाबाट राणामा गएको शक्ति फिर्ता गराउने षड्यन्त्र भएको पत्ता लागेपछि २० जनालाई मृत्युदण्ड दिइयो।

नरेन्द्रविक्रम स्वयंलाई भारतको चुनार किल्लामा बन्दी बनाइएको थियो। उक्त प्रकरणमा संलग्न भएको भनी दरबारभित्रै त्रैलोक्यलाई विष दिएर मारेको कतिपय इतिहासकारले लेखेका छन्। सोही प्रकरणमा जङ्गबहादुरका छोरा जगत्जङ्गलाई पनि आरोपी बनाइएको थियो।

त्यसै कारण तीर्थ गर्न भनी भारत गएका जगत्जङ्ग नेपाल नफर्की उतै बसेका थिए। उनी भारतमै बसेकाले रणोद्दीपसिंहपश्चात् रोलक्रम पाएका उनको स्थानमा माइला भाइ जितजङ्गलाई राखिएको थियो। यो सबै प्रकरणमा धीरशमशेरको मुख्य भूमिका रहेको विभिन्न इतिहासकारले लेखेका छन्।

त्यस बेला राणाहरू जङ्ग र शमशेर खलकमा बाँडिएको देखिन्छ। रोलक्रमलाई लिएर उनीहरूबीच बढेको त्यही अविश्वासका कारण विसं १८४२ सालमा धीरशमशेरका छोराहरू मिलेर नारायणहिटीस्थित आफ्नै दरबारमा प्रधानमन्त्री रणोद्दीपसिंहलाई हत्या गरेको घटनालाई बयालीस साल पर्व भनिन्छ। उक्त हत्याकाण्डपश्चात् त्यसको दोष जङ्ग खलकमा लगाइएको र जङ्ग खलकका भेटेजति सबै पुरुषलाई शमशेर खलकले सिध्याएको इतिहास छ।

इतिहासकार पुरुषोत्तमशमशेर जबराले ‘श्री ३ हरूको तथ्य वृत्तान्त – भाग एक’ मा उक्त घटनाको विस्तृत विवरण दिएका छन्।

जङ्ग र शमशेर खलकको सङ्घर्षमा परेर मारिएका रणोद्दीपसिंहबारे उनी लेख्छन्, “स्व. रणोद्दीपसिंह ज्यादै सोझा, धर्मपरायण हुनुका साथै नि:सन्तान पनि थिए। त्यस समय नेपाल सरकारको राजनीति उनीअनुकूल थिएन।”

इतिहासकारहरूका भनाइमा उक्त घटनाले जहानियाँ राणा शासनमा पनि जङ्ग खलकको अस्तित्व मेटिदियो र त्यसपछि शमशेर खलकले मात्र नेपालको शासनसत्तामा आफ्नो हालीमुहाली गरे।

नारायणहिटी राजदरबार हत्याकाण्ड

विसं २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भयो।

उक्त घटनाको १८ वर्ष हुँदा पनि त्यस हत्याकाण्डलाई धेरैले रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन्।

उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले “आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको” भन्ने खालको विवरण सार्वजनिक गरेको थियो।

तर त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन्।

दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिएका छन्। डा. देवकोटाका अनुसार दरबारको घटनाको ढाकछोप गर्नका लागि युवराज दीपेन्द्रले लागुपदार्थ खाएको भनिएको हुन सक्छ।

उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन्। तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ।

तर ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन।

दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ‘मैले देखेको दरबार’ मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ।

हालै सार्वजनिक भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक ‘दरबारको दु:खान्त, राजपरिवार र संहार: मैले जसरी देखेँ’ मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइ छ।

तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन्।

कतिपय इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्ने गर्छन्।

विसं २०६२/६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो। त्यसले पनि धेरै नेपालीलाई गणतन्त्रतर्फ उन्मुख हुन उत्प्रेरित गरेको कतिपयको विश्लेषण हुने गरेको छ। बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्