कर्णाली प्रदेशमा अब छोरीमात्र जन्माए प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ र निशुल्क शिक्षा

२६ असार, काठमाडौं– कर्णाली प्रदेश कालीकोटको खाँडचक्र नगरपालिकाले छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने अभिभावकहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिने बताएको छन । साथै नगरपालिकाले ती छोरीहरूको विद्यालय पढाइको सम्पूर्ण खर्च बेहोर्ने पनि जनाएको छ । नगरपालिकाले प्रोत्साहन स्वरुप एक वा दुई छोरीका अभिभावकलाई मात्रै स्थायी बन्ध्याकरणको प्रमाणपत्र पेश गरेपछि दिनेछ । स्थानिय उपप्रमुख विजया विष्ट भन्छिन् छोरीहरू जोगाउन नै गाह्रो भयो, त्यसैले यस्तो कार्यक्रम ल्याएका हौँ ।

अंश खाने र बुढेसकालमा पाल्ने छोरा नै हो, छोरी अर्काकी घरमा जान्छिन् भन्ने मानसिकताले गर्दा छोराको चाहनामा धेरै सन्तान पाउने र पछिल्लो समय भ्रूणहत्या पनि हुन थालेको छ । त्यसैले हामीले बाध्य भएर यस्तो कार्यक्रम ल्याएका हौँ । विष्टले छोराको चाहनामा २३ पटकसम्म सन्तान जन्माएकी महिलालाई अस्पतालमा भेटेको स्मरण गर्दै भनिन् छोरी पनि छोरा सरह हुन् भन्ने बुझाउन कार्यक्रमा ल्याइएको होे । यस्तो सोचलाई तुरून्तै परिवर्तन गर्न नसकिने भएपनि त्यसतर्फ प्रेरित गर्ने मनसायले कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुखको भनाइ छ ।

पुरस्कार रकम आर्थिक वर्ष २०७६/७७ देखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने नगरपालिकाले जनाएको छ । विविध कार्यक्रम अन्तर्गत छुट्याइएको १५ देखि २० लाख रुपैयाँबाट कार्यक्रम संचालन गर्ने बताइएको छन । महिला हिंसा रोक्न, महिला सशक्तिकरण र लैंगिक समानताका कार्यक्रम अन्तर्गत छोरीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू विभिन्न स्थानीय तहले पनि ल्याएका छन् । एक वर्ष अघि प्रदेश २ सरकारले नै छोरी बचाउ छोरी पढाउ भन्ने कार्यक्रम शुरू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्