नेपालमा अहिले मनसुनी गतिविधि ,”कम सक्रिय”

३१ असार काठमण्डौं–मौसममा केही सुधार आएर अविरल वर्षा रोकिए पनि डुबानमा परेका तराईका विभिन्न जिल्लामा विस्थापितहरूको अझै बिचल्ली छ।सोमवार साँझसम्मको विवरण अनुसार सबैभन्दा बढी ललितपुरमा ६ जनाको ज्यान गएको छ भने मकवानपुर र भोजपुरमा गरी १० जनाको मृत्यु भएको छ।

केन्द्रको तथ्याङ्क अनुसार रौतहट, ओलखलढुङ्गा, धनुषा, सिरहा र सिन्धुलीमा ८ जनाको र झापा, खोटाङ, काभ्रेपलाञ्चोक र काठमाण्डू ६ जनाको ज्यान गएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीका कारण ३८ जना घाइते भएका छन् भने ३१ जना बेपत्ता भएका छन्।त्यसैगरी मोरङ, महोत्तरी, बारा, पर्सा, धादिङ, डोल्पा र दाङमा ४ जनाको ज्यान गएको छ।

  • पर्यटकीय क्षेत्र चितवन सौराहा वर्षात् भएसँगै सुनसान

बाढीका कारण सोमवार साँझसम्म साढे १६ हजार घरधुरी अस्थायी रूपमा विस्थापित भएको अधिकारीहरूले बताएका छन्।सबैभन्दा बढी मोरङमा साढे छ हजार घरधुरी विस्थापित भएको छ।सङ्घीय सरकारले घाइतेको निःशुल्क उपचार तथा जोखिममा परेकाहरूको उचित बन्दोबस्त गर्न निर्देशन दिएको छ।

प्रदेश नं–२ को सरकारले उद्धार तथा राहतमा खर्च गर्ने गरी आठवटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १० लाख रुपैयाँको दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवम्‌ मृतकका परिवारलाई प्रतिमृतक तीन लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतबाट ४१ हजार २०४ जनालाई परिचालन गरिएको छ भने हालसम्म ३,३६६ जनाको उद्धार गरिएको छ।मनसुन न्यून चापीय रेखा तराईभन्दा केही तल भारतीय आकाशमा रहेकाले अहिले नेपालमा मनसुनी गतिविधि कम सक्रियु अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर देशभरि प्राय सबैतिर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।अहिले पश्चिम नेपाल र मध्य तथा पूर्वी नेपालका केही स्थानमा वर्षा भइरहेको छ।महाशाखाका अनुसार मङ्गलवार दिउँसो पहाडी तथा तराईका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

बाढी, पहिरो र डुबानका कारण भएको क्षतिपछि राहत वितरणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग गरी तीनवटा छुट्टा/छुट्टै कोषको व्यवस्था रहेको र ती कोषहरूमा बजेटको अभाव नरहेको अधिकारीहरूले बताएका छन्।केन्द्रीय विपद् व्यवस्थापन कोषमा डेढ अर्ब रुपैयाँ रहेको र प्रदेश र स्थानीय तहहरूले आवश्यकताका आधारमा त्यसमा रकम राखेको बताइएको छ।

राहत वितरणलाई सहज र प्रभावकारी बनाउन जिल्ला र स्थानीय तहमा रहेका दैवी प्रकोप उद्धार समितिमार्फत्‌ मात्रै वितरणको व्यवस्था गरिएको उनीहरूको भनाइ छ।सरकारी आँकडा अनुसार हालसम्म यस वर्षको मनसुनका कारण ३१ जिल्ला प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्