नारायणगढ–मुग्लिन सडकका १५ पुलको निर्माण प्रक्रिया अघि बढ्दै

१२ श्रावन काठमाण्डौँ– झन्झटिलो कानुनी प्रक्रियालाई मन्त्रिपरिषद्ले सहज बनाइदिएपछि नारायणगढ–मुग्लिन सडकका १५ पुलको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । पुल निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनमा देखिएको अन्योल मन्त्रिपरिषद्को निर्णयले फुकाइदिएको हो।

मन्त्रिपरिषद्ले दिएको पुल बनाउने स्वीकृतिअनुसार नै पुलको निर्माण गर्न बाटो खुलाइदिएकाले आइतबारबाटै काम सुरु हुने पनि उहाँले जनाउनुभयो । केही कानुनी प्रक्रियाका कारण पुल निर्माणको काम रोकिएको थियो । नारायणगढ–मुग्लिन सडकमा १५ वटा पुल ‘डिजाइन एन्ड विल्ड’का आधारमा निर्माणका लागि गत सोमबार साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत दिएको हो।

निर्माण व्यवसायीसँगै पुल निर्माणको डिजाइन माग गरेर बनाइने विधिलाई प्राविधिक भाषामा
‘डिजाइन एन्ड विल्ड’ भनिन्छ । यो प्रविधिबाट नेपालमा धेरै पुल बनेका छन् । पृथ्वीराजमार्गकै मुग्लिनमा बनेको पुल पनि यही प्रविधिको हो । निर्माण व्यवसायीले नै परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्दै डिजाइन गरेर पुल निर्माण गर्ने गरी मन्त्रिपरिषद्को स्वीकृति छ, निर्देशक ,पुल महाशाखाकै प्रस्तावअनुसार पुल बनाउने स्वीकृति पाइएकाले अब पुल बनाउने बाटो सहज भएको छ।

वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी नयाँ कानुनले परियोजनालाई ठेक्कामा दिनुपूर्व नै वातावरणीय प्रभाव मूल्याङ्कन गराउनु पर्ने व्यवस्था गरेको छ तर पुल महाशाखाले सडकको अवस्थालाई ध्यानमा राखी व्यवसायीले नै डिजाइन गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन गराएर पुल निर्माण गर्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद्सँग स्वीकृति मागेको थियो । सोही प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।

अब यसरी बनाइने पुलका लागि पहिला महाशाखाले कुन पुलको साइज कति हुने भन्ने प्रारम्भिक डिजाइन दिनुपर्छ । त्यही आधारमा निर्माण व्यवसायीले पुलको डिजाइन बनाउँदै निर्माणका लागि आफ्नो बोलकबोल प्रस्ताव गर्ने व्यवस्था छ । आइतबार नै पुलको लागत इस्टिमेट र पुलको साइजका बारेमा टुङ्गोमा पुगिने छ ।

नारायणगढ–मुग्लिन सडकको विस्तारसँगै पुल पनि विस्तार हुनुपर्ने आवश्यकता भए पनि कानुनी झन्झटका कारण यो समस्याले लम्बिइ रहेको थियो । देशकै मेरुदण्ड मानिएको नारायणगढ–मुग्लिन सडकको पुनर्निर्माणको काम सकिए पनि त्यहाँ रहेका पुल भने निर्माण हुन नसक्दा यो सडकमा रहेका जीर्ण पुलले जोखिम बढाएको थियो ।

नारायणगढदेखि मुग्लिनसम्मको झण्डै ३६ किलोमिटर सडकमा रहेका १९ वटा पुलमध्ये चार वटाको भने पुनर्निर्माणको काम भइरहेको छ । सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनर्निर्माणको काम थालनी भएको नारायणगढ–मुग्लिन सडक अहिले दुई लेनको सडक निर्माण भएको हो ।

यो सडक निर्माणका लागि विश्व बैङ्कले तीन अर्ब ३६ करोड रुपियाँ खर्च गरिसकेको छ । सडकमा रहेका जीर्ण पुल निर्माणका लागि विश्व बैङ्कले करिब २० अर्ब २० करोड रुपियाँ बजेट व्यवस्था मिलाए पनि पुल निर्माणका लागि प्रक्रियागत रूपमा अगाडि बढ्न सकेको थिएन । अब बढ्दो महँगीसँगै त्यो बजेटले पुल निर्माण गर्न नपुग्ने भएपछि यसलाई पुनः मूल्याङ्कन गर्ने योजनामा महाशाखा पुगेको छ ।

नारायणगढ–मुग्लिन सडकका जलवीरे, दासढुङ्गा, खानी र मौरी पुलको पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा छन् । तीमध्ये १५÷१५ मिटर लम्बाइका दासढुङ्गा र मौरी पुल निर्माण सम्पन्न हुने चरणमा छन् भने २५ मिटर लम्बाइको खानी र ८० मिटर लम्बाइकै जलवीरे पुलको निर्माण कार्य जारी छ । यी पुल बनाउन विश्व बैङ्कले नेपाल सरकारलाई २५ करोड रुपियाँ सहयोग गरेको छ । अब बन्ने १५ वटा पुलको चौडाइ पनि ११ मिटरकै रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्