टी–२० विश्वकप छनौट क्रिकेटः सिङ्गापुर संग नेपालको नमिठो हार

१२ श्रावन,काठमाण्डौ– सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी–२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई ८२ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो। टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०९ रन मात्रै बनाउन सक्यो।

जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ । नेपालका कप्तान पारस खड्काले जितको श्रेय सिङ्गापुरको उत्कृष्ट खेललाई दिए।

खड्काले भने सिङ्गापुरले राम्रो खेल्यो। मैदान ब्याटिङको लागि राम्रो थियो र हामीले जित्न सक्थ्यौँ तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ। नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए।

तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन। मल्लले ३९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २३, खड्काले १२ र सोमपाल कामीले ११ बनाए। अन्य नेपाली ब्याट्सम्यानहरूले दोहोरो अङ्क रन बनाउन सकेनन्। सिङ्गापुरका लागि सेलाडोर विजयकुमारले चार र विनोथ बसकरणले दुई विकेट लिए।

डेभिडले सिङ्गापुरको लागि सर्वाधिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे। दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए। ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो। मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।

नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए। अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो। सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।

सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा टिम डेभिड र रोहन रङ्गराजनले राम्रो ब्याटिङ गरेपछि अघोषित फाइनल खेल प्रतियोगिताकै धेरै रन बनाइएको खेल बनेको थियो। टी–२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो। गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्