नेपालमा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी (म्याक्सिमम रेजिड्यू )लिमिट निर्धारण

१६ श्रावन,काठमाण्डौँ–विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट एमआरएल निर्धारण गरेको अधिकारीहरूले बताएका छन्।

विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै अब थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिनुपर्ने बताएका छन्। स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ। विभागले आलुमा मात्रै ७१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकेको छ। उदाहरणका लागि बेन्टाजोन जीवनाशक विषादी प्रतिकिलो आलुमा ०।१ मिलिमिटर निर्धारण गरिएको छ अर्थात्‌ त्यति मात्रा भए खान मिल्छ ।

प्रशोधित खानामा एमआरएल निर्धारण गर्दै आएको भए पनि फलफूल तथा तरकारीमा चाहिँ सीमा तोकिएको पहिलो पटक हो। थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि गृहकार्य भइरहेको अधिकारीहरूले बताएका छन्।

विगतमा त्यति धेरै व्यावसायिक खेती नहुने गरेको र विषादीको प्रयोग पनि अहिलेको जस्तो नभएको पृष्ठभूमिमा नेपालले फलफूल तथा तरकारीमा एमआरएल निर्धारणतर्फ ध्यान नदिएको कतिपय अधिकारीहरूको तर्क छ। त्यसका लागि अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ। यो रेजिड्यू यति भयो भने हानि पुग्छ वा पुग्दैन भन्नेबारे वैज्ञानिक प्रमाण चाहिन्छ अनि बल्ल मापदण्ड निर्धारण हुन्छ ।

जीवनाशक विषादीको प्रकार अनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी आलु, गोलभेँडा र चियामा अवशेषको अधिकतम सीमा फरकफरक निर्धारण गरिएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

नेपाल आफैँले त्यस्ता वैज्ञानिक अध्ययन, अनुसन्धान गर्न सक्ने अवस्था नभएको पृष्ठभूमिमा कोडेक्स मापदण्ड एवम्‌ नेपालले मुख्य व्यापार गर्ने छिमेकी मुलुकहरूले निर्धारण गरेका अधिकतम सीमाबारे अध्ययन गरी तोक्ने गरिएको छ ।

काठमाण्डूको कालीमाटीसहित देशका विभिन्न सात स्थानमा रहेका द्रुत विश्लेषण प्रयोगशालामा दुईवटा समूहका विषादी मात्र जाँच्न हुन सक्ने बताइन्छ। विद्यमान प्रयोगशालाबाटै पनि पूर्ण क्षमताअनुसार काम लिन नसकिएको स्वयम्‌ अधिकारीहरूले नै स्वीकार्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्