ए श्रावण: ब्यूटीपार्लर र मसाज सेन्टरमा हुल बढाउन नआऊ साउन ।

-आल्माङ
कुनै जातिको, कुनै धर्मको
आस्था र पहिचान बनेर
आउछौ भने,
आऊ साउन ।
तर, सबै सम्प्रदायको नारीहरुको,
जीवनलाई नजरबन्द पार्ने
सतही फाउन्डेशन
बन्छौ भने,
नआऊ साउन ।।

राजनितिशास्त्रमा,
समाजशास्त्रमा,
अर्थशास्त्रमा,
कानुन, विज्ञान सबैमा..
उच्च अध्ययन गरेका..
सबै साथीहरुलाई चिन्ता छ आजकाल,
कहाँ पाइन्छ, झिलझिले हरियो सारी?
कहाँ लगाइन्छ, राजस्थानमा जस्तो बुट्टेदार मेहेन्दी ?
सारी, चुरा, मेहेन्दीले नै
पुरै साउन खान्छ भने,
नआउ, साउन ।
कुनै जाति–धर्मको
आस्था र पहिचान बोकेर
आउछौं भने,
आऊ साउन ।।

अन्ततः उही सोचमै,
आत्महत्या गर्नु थियो भने,
विद्यालयमा नङ पाालिस पनि
मनाहि किन छ ?
हिल जुत्ता र श्रृङ्गार विद्यालयमा मनाहि छ ।
ता, कि, विद्यालयको शिक्षाले
‘आज’ बाँच्न सिकाओस्…
‘हिजो’ लाई परिमार्जन गरोस्
र,
‘भोली’ परिवर्तन होस् ।
धेर–थोर भलाकुसारी…
साउने भेलको,
छुकछुके रेलको,
देश, प्रदेशको,
न्याय र नेलको,
पनि होस् साउनमा ।
हुल, जमात् बनेर,
कस्मेटिक कुरा गरेर,
छिमेकी देशहरुको व्यापार बढाएर,
आफ्नो चिनारी मेटाउने गरी,
समय खेर नजाओस् साउनमा ।।
ब्यूटीपार्लर र मसाज सेन्टरमा
हुल बढाउन,
नआऊ साउन ।
कुनै जाति–धर्मको
आस्था–पहिचान बनेर
आउछौं भने,
आऊ साउन ।।

प्रतिक्रिया दिनुहोस्