कश्मीर विवाद: नियन्त्रणरेखामा गोली हानाहान,

काठमाण्डौँ– कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रणरेखामा भारतीय सेनासँग भएको गोली हानाहानमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ । सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ ।

पाकिस्तानले पाकिस्तानी सेनाले प्रभावकारी उत्तर दिएको भनेको छन्  । पाँच भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन्  । बङ्कर ध्वस्त पारिएको छ । दुवैतिरबाट सघन गोलीबारी जारी छ । पाकिस्तानले पाँच भारतीय सैनिकलाई मारिदिएको दाबीलाई भारतले अस्वीकार गरेको छ ।

नियन्त्रणरेखा विवादित कश्मीर क्षेत्रलाई भारत र पाकिस्तानबीच छुट्ट्याउने सीमा हो।
पाकिस्तानको सेनाले ट्विटरमार्फत् एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, भारतको कब्जामा रहेको जम्मू–कश्मीरको अनिश्चित अवस्थाबाट ध्यान हटाउन भारतीय सेनाले नियन्त्रणरेखामा गोलीबारी बढाएको छ। तीन पाकिस्तानी सैनिक शहीद भएका छन्।

भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मू–कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता खोसेपछि सो क्षेत्र तनावग्रस्त छ । कश्मीरको विषयमा पाकिस्तानले भारतको आलोचना गरेको छ।

यसअघि बुधवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले थप कारबाही गर्न लागेको र आफूहरूले ईँटको जबाफ ढुङ्गाले दिने बताएका थिए।

त्यसको भोलिपल्ट स्वतन्त्रता दिवसको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विकासका लागि सो क्षेत्रलाई दिइएको विशेष मान्यता हटाइएको दाबी गरे। उनले इमरान खानको टिप्पणीबारे कुनै प्रतिक्रिया त दिएनन् तर उनको डेढ घण्टा लामो भाषण कश्मीरकै सेरोफेरोमा रह्यो।

यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ। अगस्ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेयता भारत प्रशासित कश्मीरमा सुरक्षा कडिकडाउ तथा यातायार र सञ्चारमा सरकारी नियन्त्रण जारी छ।

अगस्ट १५ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त निर्णयको बलियो बचाउ गरेका छन्। पाकिस्तानले भने उनलाई भारतमा हिन्दू सर्वोच्चतावादी नीति लागु गराइरहेको आरोप लगाएको छ। भारतको नीतिका कारण पूरै दक्षिण एशिया क्षेत्रमा नयाँ खतरा पैदा भएको पाकिस्तानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्