क्यान विवाद अन्त्यको सङ्केत, क्यान निर्वाचनको नयाँ मिति तय

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी, क्यान निर्वाचनका लागि गठित स्वतन्त्र समिति र राष्ट्रिय खेलकुद परिषद्‍ राखेपबीच सहमति भएपछि असोज १० र ११ गते निर्वाचन हुने भएको हो । नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रिय कार्यसमितिको निर्वाचन मिति तोकिएपछि लामो समयदेखिको विवाद समाधान हुने बताइएको छ ।

यसअघि आईसीसीले गठन गरेको समितिले असोज ३ र ४ गते निर्वाचन गर्ने एकतर्फी सूचना सार्वजनिक गरेपछि राखेप आफ्नो स्वीकृति नलिएको भन्दै असहमत भएको थियो । आइसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा, रणनीतिक प्रबन्धक अमर शेख र राखेप सदस्यसचिव रमेश सिलवालबीच सोमवार भएको छलफलपछि नयाँ मिति तोकिएको हो । अब क्रिकेटले नयाँ जीवन पाउनेछ ।

सदस्यसचिव सिलवाल का अनसुार स्वच्छ र निष्पक्ष निर्वाचन, गर्न ेअनि नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा गर्ने र क्रिकेट विकासको भावी योजनामा छलफल भयो । सहमति अनुसार क्यानको निर्वाचन स्वतन्त्र समिति र राखेपका प्रतिनिधिहरूको रोहवरमा हुनेछ । नयाँ कार्यसमिति चुनिएपछि निलम्बन फुकुवाको लागि आईसीसीसमक्ष अनुरोध गरिने सहमति भएको छ ।

अक्टोबर १३ मा हुने आईसीसीको बोर्ड बैठकमा निलम्बन फुकुवा गर्ने विषय राख्ने छलफल भएको बताइएको छ । निलम्बन फुकुवा भएसँगै आईसीसीले नेपाली क्रिकेटको विकासमा ठूलो सहयोग गर्ने वाचा गरेको पनि सिलवाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्