उच्च आयात : चाडपर्वसँगै सबै भन्सारबाट आयात बढ्यो

भैरहवा – दशैँ, तिहार, छठजस्ता चाडपर्वमा भैरहवा भन्सारबाट मालसामानको आयात बढेको छ । व्यवसायीले दशैँलाई लक्षित गरेर भारत, चीन तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका हुन् । अन्य सिजनमा धेरै मात्रामा औद्योगिक कच्चा पदार्थ भित्रिने भैरहवा भन्सार कार्यालय बेलहियामा अहिले खाद्यान्न, फलफूल, लत्ताकपडा, मरमसला तथा सवारीसाधन बोकेका सवारीसाधनको आवागमन बढेको भन्सारका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिनुभयो । यो नाकाबाट दशैँ, तिहारका लागि एक अर्ब रुपियाँभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढी मात्रामा हुने गरेको छ । भैरहवाबाट गत साउनमा ३० करोड ७४ लाख रुपियाँको सुर्ती तथा तयारी कपडा आयात भएको थियो । भदौमा ३५ करोड र असोजमा ४० करोड रुपियाँ बराबरको लत्ताकपडा आयात भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

विशेष गरी तयारी सामान, सटिङ–सुर्टिङ तथा सारी, कुर्ता सुरुवाल र सुती कपडा यहाँबाट भित्रिने गर्दछन् । भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, बनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा लत्ताकपडा आयात हुने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । पछिल्लो समय सस्तो र फरक–फरक डिजाइनमा आउने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष न्यौपानेको भनाइ छ । यसबाहेक तेस्रो मुलुक हङ्कङ, दक्षिण कोरिया, थाइल्यान्ड, अमेरिकाबाट समेत दशैँलाई लक्षित गरेर तयारी कपडा नेपाल भित्रिने गरेको छ । अधिकांश विदेशी ब्रान्डका कपडा काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भए पनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको व्यवसायीहरू बताउँछन् ।

चाडपर्व लक्षित गरेर व्यापारीहरूले गत साउनदेखि नै सवारीसाधनको आयात बढाएका छन् । भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्ब रुपियाँ बराबरको सवारी साधन आयात हुन्छ । आयातको झन्डै ४० प्रतिशत कारोबार दशैँ, तिहारको समयमा हुने अटो व्यवसायी तथा जगत मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिनुभयो । दशैँ, तिहार लक्षित बजारका लागि भैरहवा नाकाबाट करिब पाँच अर्ब रुपियाँभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । दशैँकै लागि भैरहवा नाकाबाट फलफूल भित्रिने क्रम पनि ह्वात्तै बढेको छ । स्याउ, केरा, भुइँ कटहर, अनारलगायतका फलफूल यस नाकाबाट बढी मात्रामा भित्रिने गर्दछ । साउन, भदौमा दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसँगै दैनिक एक सयभन्दा बढी फलफूल बोकेका गाडी नेपाल भित्रिइ रहेको भन्सार कार्यालयले जनाएको छ ।
यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन, पोखरा र काठमाडौँसम्म पुग्ने गर्दछ । अन्य समयमा फलफूल खपत तराईका जिल्लामा बढी हुन्छ तर चाडपर्वका बेला भने भारतीय स्याउ र केराले पहाडी जिल्लाको बजार धान्ने फलफूलका थोक व्यापारी वृजेश यादवले बताउनुभयो ।

चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रूपमा बढेको छ । भन्सार कार्यालयका अनुसार मरमसला, तेल, पिठो, मैदा, मसिनो तथा बासनादार चामललगायतको आयातसमेत बढेको छ । दशैँमा लत्ताकपडासँगै मसिनो तथा बासनादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव नेत्रप्रसाद आर्चायले बताउनुभयो । दशैँमा तराईमा अन्य सामानका साथै इलेक्ट्रोनिक र सवारीसाधनको पनि बिक्री बढी मात्रामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्