सबै बैंकले शुरु गर्दै चिपकार्ड, एटिएम मेसिनको स्तरोन्नती

काठमाडौं – देशभित्र सञ्चालित सबै वाणिज्य बैंकहरुले चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।

एटिएम हृयाक गरी चिनियाँ हृयाकरले ठूलो रकम नेपाली बैंकहरुबाट निकालेपछि राष्ट्र बैंकले ३ महिनाभित्र ‘चिप बेस’मा आधारित कार्ड अनिवार्य गरेको थियो । केन्द्रीय बैंकले दिएको समयावधीभित्रै बैंकहरुले चिपमा आधारित कार्ड प्रयोगमा ल्याएका हुन् ।

यसअघि अधिकांश बैंकहरुले ‘म्याग्नेटिक स्ट्रिप’ प्रविधिमा आधारित कार्ड प्रयोग गर्दै आएका थिए । चिनियाँ हृयाकरले यही प्रविधिमा आधारित कार्ड प्रयोग गरेर पैसा निकालेको पाइएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकहरुले म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु वितरण बन्द गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि धेरै बैंकमा म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु प्रयोग थिए ।

एटिएम मेसिनको पनि स्तरोन्नती

चिप प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो। यसमा कार्डवालाको हस्ताक्षरलगायत अन्य धेरै विवरण समावेश हुन्छन्। यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणिकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ। चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैन ।

चिप नभएको अर्थात् म्याग्नेटिक कार्डमा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित मानिन्छ । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड बनाइसकेका छन् ।

तर, कार्डमा प्रयोग गरिएका चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेका ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै हृयाकरहरुले एटीएमबाट पैसा चोरिरहेको सरकारी निस्कर्ष छ ।

एटीएम सिस्टम हृयाक गरी चिनियाँ हृयाकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँभन्दा बढी रकम निकालेका थिए । चिनियाँ हृयाकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालेको अध्ययनले देखाएको छ ।

पुराना कार्ड विस्थापित हुन बाँकी

अन्तर्राष्ट्रिय मान्यताअनुसार म्याग्नेटिक स्ट्रिपभन्दा चिपमा आधारित कार्ड सुरक्षित मानिन्छ । नयाँ कार्ड वितरण गर्दा चिपमा आधारित नै वितरण हुने गरेको भए पनि पुराना कार्डहरु भने विस्थापित भएका छैनन् । तर पुराना कार्डहरु पनि चाँडै विस्थापन हुने राष्ट्र बैंकको दावी छ ।

‘सुरक्षाका कारण नै चिपमा आधारित कार्ड अनिवार्य गरिएको हो, सबै बैंकले नयाँ कार्ड चिप नै बनाएका छन् ।

केही बैंकले म्याग्नेटिक स्ट्रिप कार्ड नै नचल्ने बनाइसकेका छन् । एभरेष्ट बैंकले गत असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गरिसकेको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहकलाई आग्रह गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्