विश्वकै पहिलो वीर्य ब्याङ्क

बीबीसी – न्यूजील्यान्डमा विश्वकै पहिलो वीर्य ब्याङ्क स्थापना भएको छ। बीबीसीका अनुसार एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा स्थापना भएको हो । उक्त ब्याङ्कलाई आफ्नो शुक्रकीट उपलब्ध गराउने तत्परता देखाउँदै तीन जनाले हस्ताक्षर गरेका छन्।
उनीहरूको शरीरमा पत्ता लगाउन नसकिने मात्रामा एचआईभी छ। त्यसको अर्थ उनीहरूको रगतमा निकै न्यून सङ्ख्यामा विषाणु छन् जुन यौन सम्बन्ध गर्दा वा बच्चा जन्माउँदा सर्दैन। उक्त ब्याङ्कको उद्देश्य एचआईभी सङ्क्रमणबारे विद्यमान गलत धारणासँग सङ्घर्ष गर्नु हो।

डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसभन्दा अघि तीनवटा परोपकारी संस्थाले स्पर्म पोजिटिभु स्थापना गरेका हुन्। बडी पोजिटिभ, न्यूजील्यान्ड एड्स फाउन्डेशन र पोजिटिभ विमिन इङ्कले उक्त आयोजनाले मानिसहरूलाई एचआईभी सङ्क्रमणबारे सचेत बनाउने र सङ्कमित बिरामीमा हुने हीनताबोध कम गर्न सहयोगी हुने आशा लिएका छन्।

सबै दाताहरू एचआईभी पोजिटिभ भए पनि सफल उपचारका कारण उनीहरूबाट विषाणुको सङ्क्रमण नहुने स्पष्ट पारिने उक्त ब्याङ्कले जनाएको छ।मार्च महिनामा विश्वमै पहिलो पटक एक एचआईभी सङ्क्रमित व्यक्तिबाट अन्य एक एचआईभी सङ्क्रमित बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सङ्क्रमित व्यक्तिको शरीरमा एचआईभी फैलिन नदिन एन्टीरेट्रोभाइरल थेरपीअन्तर्गत विभिन्न औषधिहरूको मिश्रण दिइन्छ। त्यसले रगतमा विषाणुको मात्रा फेला पार्न नमिल्ने तहमा निकै कम गराइदिन सक्छ। तर, एचआईभी विश्वका सबैभन्दा गम्भीर जनस्वास्थ्य चुनौतीहरूमध्ये एक हो।

प्रतिक्रिया दिनुहोस्