अव लकडाउन खुकुलो, कुन्-कुन् क्षेत्रमा गरियो खुल्ला ?

काठमाडौं — सरकारले कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार बुधवार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्‌को बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको हो । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको हो ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ । शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । तर, सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहने बताईएको छ ।

यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् ।रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

किनमेल केन्द्र, सिनेमाघर, शैक्षिक संस्था तथा धार्मिक र सामाजिक स्थल लगायतको हकमा हाललाई लकडाउन कायम राखिने जनाईएको हो । भने कृषि तथा स्वास्थ्य लगायत कतिपय सेवा तथा कार्यलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ।

पछिल्लो समय नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचालेर लकडाउन चाहिँ पटक—पटक लम्ब्याउने गरेको भन्दै सरकारले चौतर्फी आलोचना हुँदै आएको छ ।

नेपालमा ७७ मध्ये ७२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको छ। बुधवारसम्म कुल सङ्क्रमितको सङ्ख्या ४,३६४ पुगेको मन्त्रलायले जनाएको छ। सङ्क्रमितमध्ये अधिकांश खासगरी भारतबाट फर्केका नेपालीहरू रहेको अधिकारीहरूले बताएका छन्। तर, लकडाउन खुकुलो भए पनि कोरोनाभाईरसको सन्त्रास भने झनै जोखि हुने खतरा पनि देखिएको विज्ञहरुको भनाई छ । जोखिम कायमै रहने हालको अवस्थामा यसबाट सचेत रहनुपर्ने नै हुन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सञ्चालन गर्न नपाइने क्रियाकलापहरू यस्ता छन्

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)

२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।

३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत-जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।

८. स्पा, सैलुन र ब्युटीपार्लर

१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू

११. सपिङ मलहरू

१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू

१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन।

यो पनि…

विश्वलाई आतङ्कित बनाइरहेको कोरोनाभाइरसबारे जान्नैपर्ने महत्त्वपूर्ण कुरा

प्रतिक्रिया दिनुहोस्