सुनको भाउ किन निरन्तर बढिरहेको छ ?

काठमाडौं — विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस महामारीका कारण सुनको मूल्य लगातार बढिरहेको छ । पछिल्लो समय सुनको भाउमा लगातार रेकर्ड कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँले ऐतिहासिक रेकर्ड कायम गरेको हो । सुनको भाउ निरन्तर बढेपछि नेपाली बजारमा यसको प्रभाव परेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको छ । बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । महासंघका अनुसार बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण सुनको मूल्यमा असर परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको भाउ बढ्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै कारण रहेको बताउँछन् । यता अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा सन् २०२२ बाट बेसल निर्देशिका–३ लागू गर्नुपर्ने जसले नोट निष्काशन गर्दा धितो राख्दै आइएको डलर र बोण्डको सट्टा सुन राख्नुपर्ने प्रावधानका कारण सबै देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउँदै लगेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कोरोना महामारीले आर्थिक मन्दी छाउँदा उद्योग धन्दा लगायत शेयर मूल्यमा गिरावट आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित बनेका छन् । कोरोनाका कारण कामदारको अभावमा खानीबाट सुनको उत्खनन न्यून बन्दा आपूर्ति घटेर सुनको मूल्य बढेको विज्ञको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्