कामको महत्वः ‘हरेक काम तिम्रो जीवनको अन्तिम काम’

जब हामी कुनैपनि काम गर्छौं, त्यसमा हामी सम्पूर्ण लगाव र समर्पण हुनुपर्छ । नतिजको अपेक्षा गरेर काम गर्नुभन्दा पनि काममै दत्तचित्त हुनुपर्छ । सद्गुरुको भनाई यहाँ सान्दर्भिक हुन्छ । उनी भन्छन्, ‘हरेक काम गर्दा तिमी यसरी गर कि त्यो नै तिम्रो जीवनको महत्वपूर्ण र अन्तिम काम हो ।’

हाम्रो प्रवृत्ति के हुन्छ भने कामप्रति लगाव राख्ने वा काममा नै सम्पूर्ण रुपले समर्पित भएर काम गर्ने भन्दा पनि त्यसको नतिजाप्रति बढी आशक्ति राख्छौं । यही कारण हामी काममा ध्यान दिदैनौं । काममा लगाव राख्दैनौं । आफ्नो श्रममा भन्दा बढी भाग्यमा विश्वास गर्छौं । भनिन्छ नि, जस्तो रोप्यो, उस्तै फल्छ । हामीले कुनैपनि काम समर्पित भावले, पूर्णताका साथ नगरेपछि त्यसबाट अपेक्षाकृत नतिजा प्राप्त हुँदैन ।

श्रीमद्भागवत गीताको आशय त्यही हो कि, कुनैपनि काम गर्दा सम्पूर्ण रुपले काममै लगाव राख्नुपर्छ । त्यसको फलमा आशक्ति राखेर कुनै काम गरिन्छ भने त्यही सही हुँदैन । यदि अपेक्षा गरे अनुसार फल प्राप्त भएन भने हामी निरास, उदास, हतोत्साही हुन्छौं । तर, जब हामी फलप्रति आशक्ति राखेर नभई काममै समर्पण भावले लगाव राख्छौं भने भोलिका दिनमा त्यस्तो निरास हुनुपर्ने स्थिति आउँदैन ।

श्रीमद्भागवत गीतामा भनिएको छ, ‘योगः कर्मसु कौशलम् ।’ कर्ममा कुशलता नै योग हो । जब हामी कुनैपनि काम गर्छौं, त्यसलाई पूर्णताका साथ र कुशलतापूर्वक गर्नुपर्छ । काम गर्दा तीन वटा कुरालाई एउटै लयमा बाँध्नुपर्छ, शरीर, मन र बुद्धि ।

कुनैपनि काममा शारीरिक क्रिया वा श्रम आवश्यक हुन्छ । त्यसमा आफ्नो मन अर्थात लगाव हुनुपर्छ । त्यसमा आफ्नो बुद्धि एवं विवेक हुनुपर्छ । यदि कुनैपनि राम्रो काम तन, मन र बुद्धि लगाएर गरिन्छ भने त्यसले सुखद नतिजा दिन्छ । यद्यपि काम गरिरहँदा त्यसको नतिजामा आशक्ति नभई काममै लगाव राख्नु उचित हो ।

प्रतिक्रिया दिनुहोस्