सरकार पञ्चायततर्फ अग्रसर हुँदैछ : उपेन्द्र यादव

काठमाडौं — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार समावेशितालाई अन्त्य गरी पञ्चायततर्फ सरकार अग्रसर हुँदै गएको बताएका छन् । उनले वर्तमान सरकार संघीयता कमजोर पार्दै अन्त्य गर्नेतर्फ उन्मुख भएको आरोप लगाए ।

आइतबार राजविराजमा आयोजित पार्टीमा युवा प्रवेश कार्यक्रममा बोल्दै यादवले वर्तमान सरकारले संघीयतामाथि निरन्तर प्रहार गरिरहेको बताएका छन् । पछिल्लो समयमा संघीय सरकारले गरेका नियुक्तिहरुमा ९० प्रतिशत एउटै समुदायका व्यक्तिहरुलाई अवसर दिएको उनको आरोप छ ।

अध्यक्ष यादवले सरकारी नियुक्तीमा मधेशी समुदायको उपस्थिती शून्य रहेको बताउँदै उनले नेपालका कम्युनिष्टहरु कम्युनिष्टका नाममा कलंक रहेको बताए । कम्युनिष्टहरु समानता र विभेद खडा गरी संघीयतालाई समाप्त गर्नेतर्फ उन्मुख रहेको दाबीसमेत गरे ।

अध्यक्ष यादबले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै भने, सरकार जनआकंक्षा अनुरुप कार्य गर्न सकेन । ‘कमिशनतन्त्र,लुटतन्त्र र भ्रष्टतन्त्रबाट सरकार चलिरहेको छ,’ अध्यक्ष यादवले भने, ‘संघीयतालाई जोगाउन,विभेदलाई अन्त्य गर्न र समावेशिता तथा समानता कायम गर्न फेरि संघर्षको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्