सरकारविरुद्ध २० राजनीतिक संगठनले प्रदर्शन गर्ने घोषणा

काठमाडौं — सरकारविरुद्ध २० राजनीतिक संगठनहरुले संयुक्त आन्दोलन गर्ने भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा उनीहरुले सरकार विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

२० राजनीतिक संगठनहरुको कार्यगत एकताको शनिबार बसेको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । ती संगठनहरुले यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने उनीहरुले बताएका छन् । सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्