नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं — कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट निको हुनेको संख्या नेपालमा एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।

सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।

यस्तै, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै, आज कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।

सरकारले कोरोनाको जानकारी अव पाँच दिन नदिने
नियमित कोरोना भाईरसका जानकारी दिँदै आईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अव पाँच दिन नदिने भएको छ । कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पांच दिनका लागि स्थगित गरेको हो ।

दशैंका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । कोरोनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उनले बताए । स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्