नेपालको पर्यटन लयमा फर्कंदै: चहलपहल शुरु, कहाँ-कहाँ खुल्यो पर्यटकीय क्षेत्र ?

काठमाडौं – कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वका अधिकांश मुलुकको आर्थिक अवस्था कमजोर त बन्यो नै । नेपालमा पनि कोरोना महामारीका कारण थुप्रै क्षेत्र कमजोर बन्यो । नेपालको एउटा यस्तो आकर्षण क्षेत्र हो पर्यटन जहाँ कमजोर मात्रै भएनन, यो क्षेत्रमा लाग्नेहरुको व्यवसायीहरुको स्थिती नाजुक नै बनायो ।

कोरोना महामारी त सकिएको छैन । तर, नेपालमा लकडाउन खुलेसँगै यस क्षेत्रमा पनि विस्तारै चहलपहल बढ्न सुरु भएको छ । बन्दाबन्दीको आठ महिनापछि विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा पर्यटन व्यवसायीहरु अलि-अलि खुशी हुन थालेका छन् । कोरोना रहेकै समयमा केहि पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा माला र खादा पहिर्याएरै स्वागत पनि गरिएको छ । एक पर्यटन व्यवसायीले भने “आठ महिनापछि पहिलो पटक विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा म धेरै खुशी भएको छु । यसले हामीलाई उत्साह थपेको छ” ।

हालको मापदण्डलाई केही खुकुलो बनाएको खण्डमा नेपालमा प्रशस्त विदेशी पर्यटक आउने व्यवसायीहरुको विश्वास छ । अहिले अन्तरराष्ट्रिय उडान खुलेको र मापदण्ड पालना गरेर विदेशी आउने व्यवस्था मिलाइएको छ । नेपालमा पर्यटकीय गतिविधि पनि बढेको छ । गन्तब्यमा आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको छ भने थोरै सङ्ख्यामा विदेशी पर्यटक पनि पदयात्रा तथा पर्वतारोहणमा निस्किएका छन् ।

“अहिले पातलो सङ्ख्यामा विदेशी पर्यटक आउन थालेका छन् यसले पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ, हालको मापदण्डलाई सरलीकरण गर्नेतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ”, नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत रहेका सापकोटाले भने । आउटडोर हिमालयन ट्रेक्स कम्पनी तथा पर्यटकस्तरीय दुई होटल सञ्चालन गरेका सापकोटाले अहिले दैनिक १० देखि २० जनासम्म पर्यटक आउने गरेको बताए । महामारीकैबीच भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान तथा असोज ५ गतेदेखि आन्तरिक उडान शुरु भएसँगै आन्तरिक र बाह्य पर्यटकको चहल पहल बाक्लिएको छ । सरकारले कात्तिक १ देखि पदयात्रा र पर्वतारोहण पनि खुला गरेको थियो । होटल क्षेत्र पनि खुलिसकेको छ । शरद ऋतुमा बाक्लो सङ्ख्यामा विदेशी आरोहण तथा पदयात्राका लागि नेपाल आएका छन् । पर्यटन विभागको विवरणमा शरद ऋतुको आरोहणमा हालसम्म विभिन्न हिमाल आरोहणका लागि सात आरोहण दललाई आरोहण अनुमति दिइएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रुपैयाँ राजस्व पनि सङ्कलन भएको छ ।

विदेशी विशिष्ठ व्यक्तिको आरोहण
पछिल्लो पटक मङ्सिरदेखि प्रतिबन्धित पर्यटनका लगभग सबै क्षेत्र खुला गरिएको छ । महामारीकैबीच विदेशी विशिष्ठ व्यक्तिको हिमाल आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा गएको छ । धार्मिक क्षेत्र, सम्पदा तथा तीर्थस्थल पनि क्रमशः खुल्दैछन् । यसले पर्यटकीय गतिविधि बढेको छ । नेपालको पर्यटन छिट्टै पुरानै लयमा फर्कने सरकार तथा निजी क्षेत्रका व्यवसायीको विश्वास छ ।

गत मङ्सिर २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम आरोहणमा आएको बेलायती आरोहण दलका सदस्यलाई आधार शिविरमै पुगेर हौसला प्रदान गरे । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका सदस्य अमादब्लम आरोहणमा निस्किएको हो । यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले मनास्लु हिमाल तथा बहराइनका राजकुमारको आरोही दलले अमादब्लम हिमाल चढेर नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर दिनुभएको महसुस नेपालको पर्यटन क्षेत्रले गर्न पाएको छ । यसलाई यस समयको अत्यन्तै महत्वपूर्ण सन्देशका रुपमा नेपालका पर्यटन व्यवसायीले लिएका छन् । त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको आरोही दलले मनास्लु हिमाल आरोहण गरेर स्वदेश फर्किएको थियो ।

स्वदेशी तथा विदेशीको आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । कोभिड महामारीको अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख एवं निर्देशक मीरा आचार्यले बताए । यी आरोहणले सन् २०२१ को वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उनको भनाई छ । नेपाल पर्वतारोहण सङ्घ एनएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले पर्वतारोहण तथा पदयात्राका लागि अहिले केही सङ्ख्यामा आएका पर्यटकले व्यवसायिलाई उत्साही बनाएको बताए । उनले स्वास्थ्य सुरक्षा मापदण्डलाई केही खुकुलो बनाएर नेपाल प्रवेशमा सहजीकरण गर्नसके नेपालको पर्यटन क्षेत्र छिट्टै नै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पर्यटनका प्रतिबन्धित क्षेत्र क्रमशः खुल्दै गएको र पर्यटकीय गतिविधि पनि बढेकाले नेपालको पर्यटन विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । पछिल्ला असोज र कात्तिक महिनामा विदेशी पर्यटक पनि बाक्लै सङ्ख्यामा आइरहेकाले पर्यटनका लागि आगामी दिन सुखद् रहने उनको भनाइ छ ।

पर्यटक बढे
नेपालमा बन्दाबन्दी र प्रतिबन्धपछि करिब आठ महिनाको अवधिमा विदेशी पर्यटकको आवागमन लगभग शून्यप्रायः रह्यो तर बन्दाबन्दी शुरु भएयता कात्तिक महिनामा सर्वाधिक सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको विवरणमा कात्तिक महिनामा मात्र दुई हजार ९०० विदेशी नागरिक नेपाल आएका छन् । उनीहरुमध्ये एक हजार ३७० पुरुष र ६३९ महिला हुन् । उक्त अवधिमा अमेरिकाबाट ४५५, बेलायतबाट ३२६ पर्यटक नेपाल आएका छन् । चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएका छन् ।

यसअघि साउन महिनामा १३७, भदौमा ४११ र असोजमा एक हजार १९१ विदेशी पर्यटक नेपाल आएको देखिन्छ । अहिले घुमफिर वा कुनै उद्देश्यका लागि नेपाल आउने विदेशी पर्यटकले सात दिन होटल क्वारिन्टन बस्नुपर्ने व्यवस्था छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरु चाहेको गन्तब्य जान पाउछन् । अहिले आएका पर्यटकमध्ये धेरै नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, विदेशी उच्चस्तरका पाहुना तथा संयुक्त राष्ट्रसङ्घ आबद्ध कर्मचारी धेरै छन् । पर्यटक बढे पनि बोर्डबाट अक्टोबर महिनामा ८० हाराहारीमा मात्रै प्रवेशाज्ञाका लागि सिफारिस गरिएको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । उहाँले हालको सङ्क्रमणलाई कम गर्न बोर्डले सङ्कटका समयमा गरिएको सम्पर्क या सञ्चार ‘क्राइसिस् कम्युनिकेशन टुल’ को तयारी गरिरहेको जानकारी दिए ।

पाँचतारे होटल पर्ख र हेरको अवस्थामै
महामारीबाट बढी प्रभावित बनेको होटल क्षेत्रमा अहिले पनि उत्साह छैन । साना तथा पर्यटकस्तरका होटल सञ्चालनमा रहेपनि पर्याप्त पाहुना छैनन् । ठूला पाँचतारे होटल पनि पुरै खुलिसकेका छैनन् । होटल खोल्दा खर्च बढ्ने तर व्यापार भने नहुने देखिएपछि अझै पनि व्यवसायी त्रासमै देखिन्छन् । कोरोना सङ्क्रमण दर बढिरहेकाले पनि विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

सङ्ख्यामा कम भए पनि अहिलेको परिस्थितिमा पर्यटक आउनु नै खुशीको विषय भएको होटल एशोसिएसन अफ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ । उहाँका अनुसार दशैँ तिहार र छठ पर्वका अवसरमा आन्तरिक पर्यटक बढेका छन् । पोखरा, चितवन, लुम्बिनीलगायत गन्तब्यका होटलमा राम्रो व्यापार भएको छ तर ठूला होटल पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । महामारीबाट कसरी बच्ने भन्ने पनि ठूलो चुनौती रहेको छ । “हामी होटल जतिखेर पनि सञ्चालन गर्न सबैखाले तयारीमा छौँ, तर पाहुना पर्यटक आउनुप¥यो व्यापार हुनुप¥र्यो नत्र होटल खोलेर खर्च बढ्ने मात्रै हो । कतिपय खुलेका होटल तथा रेष्टुरेन्ट पनि कोरोना सङ्क्रमण बढेपछि बन्द गर्नुपर्ने अवस्थामा छन् । फेरि पनि हामी आशावादी छौँ आगामी दिनमा पर्यटन क्षेत्र गतिशील हुनेछ”, उपाध्यक्ष शाहले भन्नुभयो । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी देशभर तीन हजार हाराहारी होटल छन् ।

आन्तरिक उडानमा उत्साह
महामारीबाट बढी प्रभावित बनेको मुलुकको हवाई क्षेत्र भने विस्तारै उकासिने क्रममा छ । महत्वपूर्ण चाडपर्व तथा पर्यटकीय याम भएकाले पनि अहिले आन्तरिक उडान उत्साहवद्र्धक छ । तिहारअघिसम्म एयरलाइन्सको करिब ९० प्रतिशत अकुपेन्सी रहेको थियो तर तिहारपछि एयरलाइन्सको व्यापार सुस्त रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । अहिले हेलिकप्टरको व्यापार झनै खस्केको छ । आन्तरिक उडानमा १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको छ । नेपाल मात्र नभई संसारकै पर्यटन क्षेत्रमा यसको असर छ । संयुक्त राष्ट्रङघ, विश्व पर्यटन सङ्गठन युएनडब्लुटिओले पनि अघिल्लो वर्षको तुलनामा सन् २०२० मा विश्व पर्यटन बजार ६० प्रतिशत घट्ने प्रक्षेपण गरेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा सन् २०२० मा करिब २० प्रतिशत मात्र विदेशी पर्यटक आउने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत गिरावट हो । नेपाल पर्यटन बोर्डले यो वर्ष करिब २० प्रतिशत मात्रै पर्यटक आउने आँकलन गरेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

खोटाङको त्रिधार्मिकस्थल खुला

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा ९महादेव–पार्वती थान० र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रुपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धार्मिकस्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरु उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।

नगरप्रमुख इवन राईले मङ्गलबार जारी गरेको सूचनामा मूल गेटबाट एक पटकमा दशजना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । मन्दिरमा खटिएका स्वयम्सेवक तथा सुरक्षामर्कीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रबन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उता हलेसी विकास समितिले भने सङ्घीय सरकार मातहतको हलेसी मन्दिर खुलाउने बारेमा आफूहरुसँग परामर्श नगरी नगरपालिकाले ठाडो हस्तक्षेप गरेर बन्द रहेको मन्दिर खुलाएको गुनासो गरेको छ । समितिका अध्यक्ष टङ्क राईले मन्दिर खोल्ने कुरामा समितिको विमती नरहेको तर नगरपालिकाले विनापरामर्श अधिकार क्षेत्रभन्दा बाहिर रहेर मन्दिर खोलेकामा भने आफूहरुको विरोध रहेको बताए ।

नगरप्रमुख राईले भने बन्द रहेको हलेसी मन्दिर सरोकारवाला सबैसँग परामर्श गरेर नै खुलाइएको जानकारी दिनुभएको छ । “मन्दिर खोल्ने विषयमा विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलसँग पटकपटक कुराकानी भएको छ”, उनले भने, “ सांसद विशाल भट्टराईले समेत बन्द रहेको हलेसी मन्दिर खोल्न आग्रह गर्नुभएपछि नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना निकाल्न अगाडि सरोकारवाला सबैसँग परामर्श गरेर औपचारिक रुपमा खुलाइएको हो ।”

लामो समय बन्द रहेको मन्दिर खुलेपछि हलेसीमा दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेको व्यवसायीहरुले बताएका छन् । करीब आठ महिनादेखि व्यवसाय बन्द भएको होटल व्यवसायीसमेत मन्दिर खुलेपछि हर्षित भएका छन् । प्राकृतिक रुपमा समेत विश्व प्रसिद्ध हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बत लगायतका देशबाट दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण गर्न सांसद भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।

पाटन दरबार क्षेत्रमा चहलपहल बढ्यो

पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।

“कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो । भौतिक दूरी कायम गरेर यसो केहीबेर पाटन दरबार क्षेत्र डुल्न निस्किएका हौँ”, सरिता मैनाली र उनका साथीको भनाइ थियो । महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्ण मन्दिरको काखमा आएको राकेश पुरीले बताए । मङ्सिर महिनाको चिसो बढेसँगै एकदेखि दुई घण्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन सङ्ग्रहालय वरपर टोलमा बस्ने केही वृद्ध जमातको धारणा थियो ।

मुलुकमा कोरोना सङ्क्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । मङ्सिर महिना लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्बिर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ ।

पाटन दरबार क्षेत्र मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले भरिएको एक महत्वपूर्ण स्थल हो । मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि रहेका छन् । विश्व कला परिषद्ले पाटन क्षेत्रलाई विश्वको ३५आँै कला नगरी शहर घोषणा गरिसकेको छ ।

पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्री वितरण हुने गर्छन् । काठमाडौँ उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको शुरुआत भएको कुरा पाटनवासीको भनाइ छ ।


सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान

 कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।

यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको बताए ।

देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने छ । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक भने आउने क्रम भने छिटफुट देखिन थालेको छ । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् । भट्टराईले पाँच देखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिए ।

सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् ।


लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि नआए पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर ठमेलमा पर्यटकीय गतिविधि शुरु गरेको बताए । “यही हप्ताबाट रात्रिकालीन व्यवसाय शुरु गर्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको छ”, उनले भने, “आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र ठमेलका होटल, रेष्टुरेन्ट र डिस्को, क्लबहरु विस्तारै खोल्नुपर्छ ।”

यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घर धनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । पर्यटन व्यवसायी सुदर्शन नेपालले ठमेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । “विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्छ”, उनले बताए ।

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । दशैँ र तिहारको समयमा भने ठमेलभित्र थोरैमात्रामा भए पनि पर्यटकीय गतिविधि बढेको उहाँको भनाइ छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने बताए । “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उनले भने, यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ ।


नेपालमा चरा हेर्नकै लागि आठ प्रतिशत पर्यटक

पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ । पर्याप्त जलाशयका कारण पोखरा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेका छन् । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकोले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । पछिल्ला वर्षमा पाहुना चराको सङ्ख्या भने घट्दै गएको उहाँले बताउनुभयो । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनले बताए ।

हिउँद शुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै छिर्ने क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ । ठूला ठूला झुण्डमा आउने क¥याङकुरुङ पोखराहुँदै काली गण्डकी उपत्यका पार गर्दै भारतको राजस्थान लगायतका स्थानमा पुग्ने गरेको घिमिरेले जानकारी दिए । पोखरा र आसपासमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरे बाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका स्थानीयवासी बताउँछन् ।

पोखरासहित समग्र गण्डकी प्रदेश चरा पर्यटनका लागि आकर्षक गन्तव्य रहेको पत्रकार कृष्णमणि बरालले बताए । विशेष गरी जलाधार क्षेत्र चराहरू रमाउने स्थल भए पनि पछिल्ला वर्षमा बढ्दो मानवीय अतिक्रमणले चराको वासस्थान सङ्कटमा पर्दै गएको उनले बताए । झण्डै एक दशक अघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा पछिल्ला वर्षमा भने त्यो क्रम कम हुँदै गएको उनले बताए । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको उनको भनाई छ । कास्कीको दक्षिणभेगस्थित सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको छ । सुरौदी जलाधार क्षेत्रमा अन्य विभिन्न प्रजातिका चरा पनि कम हुँदै गएको स्थानीयवासीले बताए । पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् ।

संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको छ । कास्कीको लेखनाथ क्षेत्रस्थित रुपातालमा १०/१२ वर्ष अघिसम्म पाउने गरिएको दाह्रे हाँस स्थानीयले रजहाँस भन्ने गरेको र सेतोहाँस अहिले पाउन छोडिएको छ ।

यसअघि २०७४ सालको हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ । अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ । पछिल्ला वर्षमा जलाधार क्षेत्रमा पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायतका चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ । पोखरा पन्छी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख गरेका छन् ।

विश्वमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छ । पोखरा र आसपासमा मांसाहारी प्रजातिका चराको सङ्ख्या धेरै पाइने भएकोले पोखरालाई मांसाहारी चराको राजधानी पनि भन्ने गरिएको छ । चराहरूको संरक्षण एवम् पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा केही वर्ष यता चरा उत्सव गर्न थालिएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवं यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव गर्न थालिएको हो ।

पोखराका अष्ट्रियन क्याम्पबाट अङ्ग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बरसम्म शिकारी प्रजातिका चरा बसाइँसराइ गरेको देख्न पाइन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने अवस्थालाई दृष्टिगत गर्दै पदयात्रा क्षेत्रमा पनि चरा पर्यटनलाई सँगसँगै अघि बढाउन खोजिएको छ ।तनहुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको सहश्राव्दी पदमार्ग ९मिलेनियम ट्रेक० मा पदयात्रासँगै चरा पर्यटनलाई पनि अघि बढाउने लक्ष्यका साथ चरा गणना गर्ने काम भइरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा गणना कार्य भइरहेको जानकारी दिँदै उनले हालसम्मको अध्ययनले पदमार्ग क्षेत्रमा १३७ प्रजातिका चरा पाइएको बताउ ।

“सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर बन क्षेत्र रहेको छ,” उनले भने, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।” पन्छी समाजले गरेको स्थलगत अनुसन्धानले मिलेनियम ट्रेकलाई चरा अध्ययन केन्द्रको रुपमा अघि बढाउन सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ । अध्ययनको क्रममा सबैभन्दा बढी नेपालमा मात्रै पाइने काँडे भ्याकुर भेटिएको र अन्य अति सङ्कटमा परेको केही चरा पनि देखिएको पोखरा पन्छी समाजले जनाएको छ ।

पन्छी समाजका अध्यक्ष घिमिरेका अनुसार पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँईचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्ध लगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाई, कालो चिल, काकाकुल, शिक्रा, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका प्रजातिका चरा भेटिएका छन् । संरक्षणका क्षेत्रमा कृयाशिल प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङभाङ भैँसेगौँडामा अघिल्लो वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेशको हिमालपारिको जिल्ला मुस्ताङमा हालै दुई सय वर्षमा चार पटक देखा परेको दुर्लभ लम्काने लाटोकोसेरो (लङ यर्ड उल) भेटिएको छ । घरपझोङ गाउँपालिका वडा नं ५ ठिनीका युवा एवं राष्ट्रिय समाचार समितिका मुस्ताङ समाचारदाता निरज थकालीले स्याउबारीबाट देखिएको उक्त लाटो कोसेरोलाई भिडियोमा कैद गरेका हुन् ।

यसअघि २१ वर्ष पहिला यसप्रकारको प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पिपरमा भेटिएको भए पनि त्यसको कुनै फोटो वा भिडिओ भने सार्वजनिक हुन सकेको थिएन । करिब ५८ वर्ष अघि काठमाडौँको ककनीमा यो प्रजातिको नमुना सङ्कलन गरिएको थियो । काठमाडौं उपत्यकामा १९ औं शताब्दीमा सर ब्राईन हगसनले यसको नमूना अभिलेख गरेको भन्ने भनाइ छ । लामो समयपछि भेटिएको यो प्रजातिले लाटोकोसेरो संरक्षणकर्मीलाई अनुसन्धानमा सहयोग पु¥याउने प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए । थकालीले खिचेको भिडियो अनुसन्धानकर्मीको अध्ययनबाट लामकाने लाटोकोसेरो भएको निष्कर्षमा पुगिएको आचार्यले बताए । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये यो एक रहेको उनको भनाइ छ ।

पर्यटकीय नगरी पोखरासहित हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म फैलिएको गण्डकी प्रदेश चरा पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै आचार्यले यसको प्रवद्र्धन र विकासमा राज्यको चासो पुग्नुपर्ने बताए। “गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ५०० प्रजातिका चरा पाइन्छन् जसमध्ये १०० स्तनधारी प्रजाति छन्,” उनले भने, “नेपालमा पाइने ८८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा ६०० प्रजाति पाइन्छन् ।” रासस

यो पनि पढ्नुहोस्…

विश्वलाई लोभ्याउने ‘नीलो ताल’को मनमोहक दृश्य

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्