ओलीले अब बालुवाटारबाट बाहिरिने तयारी गरे हुन्छ: माधव नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समुहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुने बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा उनले भने– ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ ।’ कार्यक्रममा केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको बताउँदै उनले भने, ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’

कार्यक्रममा उनले भने, ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ । त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन।’ ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको र आजको बैठकमा गम्भीर छलफल हुने नेपालले बताए । उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने उनको भनाई छ ।

उनले भने, ‘संवैधानिक ‘कू’ गरेका बेला चुनावको कुरा हुँदैन । अदालतबाट सच्याउनुपर्छ । अन्तिममा त जनअदातल छँदैछ । उहाँले बैशाखमा चुनाव गराउनका लागि घोषणा गर्नुभएको छैन ।’ अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको वामदेव गौतमले नै भनेको उनले बताए ।’

केपी ओलीबाट नभएको प्रचण्डबाट भएको उनले बताए । ‘म प्रचण्डसँग गएको भनिएको छ । त्यो होइन । हिजो प्रचण्डले भनिसक्नुभएको छ । हामी दुबै जना समान अध्यक्ष हौँ । यसअघि स्थायी समिति बैठकको नेतृत्व मैले गरेँ । म पहिलो अध्यक्ष भएँ । अब प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो अध्यक्ष हुनुहुन्छ । यो कुरा केपी ओलीबाट भएन । आज प्रचण्डबाट भएको छ। अब भन्नुहोस् को राम्रो ?’नेपालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्